·

शंकास्पद कारोबारमा २४ प्रतिशतले वृद्धि, नेपाल राष्ट्र बैंकको प्रतिवेदन सार्वजनिक

Author

NEPSE trading

शंकास्पद कारोबारमा २४ प्रतिशतले वृद्धि, नेपाल राष्ट्र बैंकको प्रतिवेदन सार्वजनिक

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदन अनुसार शंकास्पद कारोबार तथा गतिविधिमा करिब २४ प्रतिशतले वृद्धि भएको छ। आर्थिक वर्ष २०७९/८० मा ५ हजार ९३५ शंकास्पद कारोबार तथा गतिविधि रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा यो संख्या बढेर ७ हजार ३३८ पुगेको छ।

राष्ट्र बैंकका अनुसार अधिकांश शंकास्पद कारोबारहरू कर छली, मौद्रिक/बैंकिङ/विदेशी विनिमय/बीमा/सहकारी, ठगी, चिठ्ठा/जुवा/सट्टेबाजी जस्ता कसुरसँग सम्बन्धित छन्। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम रिपोर्टिङका लागि इकाईको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानून कार्यान्वयन गर्ने निकाय र नियामक निकायहरूको संख्या १ हजार ६३९ पुगेको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सीमा कारोबारको संख्यामा भने सामान्य कमी देखिएको छ। आर्थिक वर्ष २०७९/८० मा १६ लाख ९८ हजार ३९८ रहेको सीमा कारोबार आर्थिक वर्ष २०८०/८१ मा १६ लाख ९७ हजार ७१२ मा झरेको छ। तर, शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदन भने गत वर्षको तुलनामा ३४ प्रतिशतले बढेको छ।

आर्थिक वर्ष २०८०/८१ मा विश्लेषण गरिएका १ हजार ६३२ प्रतिवेदनमध्ये ८८९ वटा थप अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकाय र नियामक निकायमा पठाइएको छ। बाँकी ७४६ प्रतिवेदन भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरिएको छ।

सन् २०२३ मा नेपालको तेस्रो चरणको पारस्परिक मूल्यांकन सम्पन्न भएको र वित्तीय कारबाही कार्यदल (एफएटिएफ) को थप अनुगमन सूचीमा रहेको नेपालले सो सूचीबाट बाहिरिन समयबद्ध कार्ययोजना कार्यान्वयनमा जोड दिएको प्रतिवेदनमा उल्लेख छ। साथै, सम्पत्ति शुद्धीकरण र आतंककारी कार्यमा वित्तीय लगानी निवारणका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समन्वयका कार्यहरू पनि प्रतिवेदनमा समेटिएका छन्।

प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण र वित्तीय अपराधका लागि प्रयोग हुने प्रविधि र प्रवृत्तिहरू जस्तै हुण्डी, साइबर ठगी, अनलाइन अवैध खेल, अभौतिक सम्पत्ति, कर छली, भ्रष्टाचार, आयात-निर्यातको माध्यमबाट हुने गतिविधिलाई पनि उजागर गरेको छ। इकाईले कर्मचारी, सम्बद्ध निकाय र सूचक संस्थाहरूको क्षमता अभिवृद्धिका लागि विभिन्न गतिविधि सञ्चालन गरेको जनाइएको छ।

नेपाल राष्ट्र बैंकले यो प्रतिवेदनमार्फत इकाईको वार्षिक काम कारबाही र नेपालको सम्पत्ति शुद्धीकरण निवारण प्रणालीको अवस्थाबारे विस्तृत जानकारी सार्वजनिक गरेको हो।

Related News