नेपाली शेयर बजारका चुनौती र सम्भावना: सचिन शिलवालको विशेष अन्तरवार्ता
Author
Dipesh Ghimire
पश्चिम नेपालको नेपालगञ्जमा जन्मिएका सचिन शिलवाल एशियन क्यापिटलका प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक हुन्। उनले स्नातक तहसम्मको अध्ययन आफ्नै गृह जिल्लाबाट पूरा गरेका थिए भने थप शिक्षा काठमाडौँबाट प्राप्त गरेका हुन्। वि।सं। २०६१ सालदेखि प्राध्यापन पेशामा संलग्न रहँदै आएका शिलवाल हालसम्म पनि उक्त पेशालाई आफ्नो रुचि र अतिरिक्त जिम्मेवारीका रूपमा निरन्तरता दिँदै आएका छन्।
नेपालको शेयर बजारको सन्दर्भमा, युवा सञ्चारकर्मी दिपेश घिमिरेले शिलवालसँग nepsetrading.com को लागी विशेष अन्तरवार्ता गरेका छन्।
प्रश्नः अहिलेको शेयर बजारलाई कसरी मूल्यांकन गरिरहनुभएको छ?
बजार लामो समय (लगभग ४ वर्ष) बियरिस गयो। यो आर्थिक वर्षदेखि भने बजार सकारात्मक देखिएको छ। बजारमा सकारात्मक प्रभाव देखिएको कारणले लगानीकर्ताको मनोबल पनि उच्च रहेको छ।
बजारले पछिल्लो समय करिब ८०० अंकको वृद्धि गर्दै ३००० अंकसम्म पुग्न सफल भयो। त्यसपछि करेक्शन आएको छ, जुन स्वाभाविक हो। यो करेक्शनले किन्न छुटेका लगानीकर्ताहरूलाई पुनः खरिद गर्ने अवसर दिएको देखिन्छ।
हाल बजारलाई हेर्दा बैंकको ब्याजदर घट्दो क्रममा रहेको, बैंकमा पर्याप्त तरलता (लिक्विडिटी) रहेको, विदेशी मुद्रा सञ्चिति सुधारिएको, र विगतमा बजारबाट अलग भएका लगानीकर्ताहरू पुनः सक्रिय हुन थालेका छन्। यी सबै कारणहरूले आगामी दिनमा बजारले अझ राम्रो गति लिन्छ जस्तो मलाई लाग्छ।
प्रश्नः विगतमा ३० अर्बसम्म कारोबार भएको बजार ४ अर्बमा झर्दा तपाईंलाई कस्तो लाग्यो? यसले धेरै लगानीकर्तालाई बजार बुल हैन जस्तो महसुस भयो। यसलाई तपाईं कसरी हेर्नुहुन्छ?
यो शेयर बजारको सामान्य प्रक्रिया हो। विगतको अनुभवका आधारमा जब बजार घट्न थाल्छ, बिक्रेताहरु क्रमशः कम हुँदै जान्छन् भने खरिदकर्ताहरु पर्ख र हेरको अवस्थामा हुन्छन्। यसले गर्दा कारोबारको भोल्युम पनि घट्न जान्छ।
बजार घट्दा सेयरको मूल्य कम हुने भएकाले स्वाभाविक रुपमा भोल्युम घट्छ। तर जब बजारमा सकारात्मक वातावरण सिर्जना हुन्छ, विस्तारै भोल्युम बढ्दै जान्छ। यस्तो स्थिति विगतमा पनि देखिएको थियो, र यो शेयर बजारमा स्वाभाविक प्रक्रिया हो।
यस आधारमा बजार बियरिसमा गएको भन्न मिल्दैन। बियरिस शुरु हुनको लागि पहिले बुल मार्केट सम्पन्न हुनुपर्छ। अहिलेको अवस्थामा बजार संघनन प्रक्रियामा (Consolidation Phase) छ। बियरिस त्यतिखेर शुरु हुन्छ जब बजारले ३२०० अंक पार गरी नयाँ उच्च विन्दु बनाउँछ र त्यसपछि घट्न थाल्छ।
प्रश्नः बुल मार्केटमा र बियरिस मार्केटमा कारोबार गर्ने रणनीतिमा फरक हुन्छ?
हो, रणनीतिमा स्पष्ट फरक हुन्छ। बियरिस मार्केटमा राम्रो कम्पनीका स्टकहरु आकर्षक मूल्यमा खरिद गरिन्छ।
तर बुल मार्केटमा हामीले बजारको परिस्थिति अनुसार चल्नुपर्छ। धेरै पटक केही स्टकहरु बुल समाप्त नभएसम्म पनि चल्दैनन्। उदाहरणका लागि, विगतको बुल मार्केटमा होटल सेक्टर खासै चलेन, तर अहिलेको बुल मार्केटमा होटल सेक्टरले धेरै राम्रो प्रदर्शन गरिसकेको छ।
बुल मार्केटमा झनै अध्ययनशील हुनु जरुरी छ। यदि हामीले राम्रो अध्ययन नगरी भिडलाई पछ्यायौं भने बुल मार्केटमा जोखिम झनै बढ्छ।
प्रश्नः नेपाली शेयर बजारमा तीन प्रकारका लगानीकर्ता (दीर्घकालीन, छोटो अवधि, र गति आधारित) पाइन्छन्। उनीहरुले कसरी लगानी गर्नुपर्छ? लगानी गर्ने क्रममा आफ्नो उद्देश्य स्पष्ट हुनु जरुरी छ।
तपाईंको उद्देश्य के हो? तपाईं कस्तो प्रकारको लगानीकर्ता हुनुहुन्छ?
मलाई लाग्छ, बजारमा दुई प्रकारका रणनीतिबाट अगाडि बढ्न सकिन्छः
दैनिक लगानी (SIP): यो दीर्घकालीन लगानीकर्ताहरुका लागि उपयुक्त रणनीति हो। यसले कहिल्यै घाटा गराउँदैन।
पूर्णकालीन लगानी: बजारलाई पूर्ण समय दिनु, घटेको बेलामा किन्नु र बढेको बेलामा बेच्नु।
तर, यति हुँदा पनि तपाईंले कस्तो स्टक चयन गर्नुभएको छ, तपाईंको रणनीति के हो? यो बुझ्न अति महत्वपूर्ण छ।
प्रश्नः नेपाली शेयर बजार अन्तर्राष्ट्रियस्तरको हुन सकेन, बजारको विश्लेषण गर्न गाह्रो छ, विदेशी लगानीकर्ता भित्राउन सकिएन, एलएलसी, एमएफसी आदिलाई समेत भित्राउन सकिएन र यसका लागि आवश्यक पूर्वाधार पनि तयार भएनन् भन्ने छ। यसमा तपाईंको भनाइ के छ?
यहाँले भन्नुभएको कुरा सही हो। नेपाली शेयर बजारका लागि आवश्यक पूर्वाधारहरू अझै तयार भएका छैनन्। नेपाली शेयर बजारमा पैसा कमाउनका लागि बजारले उकालो लाग्नै पर्छ भन्ने धारणा धेरैले राख्छन्। तर शेयर बजारलाई दीर्घकालीन रूपमा सफल बनाउनका लागि विविध उपकरणहरू आवश्यक पर्छन्। उदाहरणका लागि, शेयर डेरिभेटिभ्स, शॉर्ट सेलिंग, म्युचुअल फण्ड जस्ता संरचनाको अभाव छ।
नेपालमा व्यक्तिगत लगानीकर्ताको बाहुल्यता छ भने संस्थागत लगानीकर्ताको (Institutional Investors) उपस्थिति न्यून छ। सरकार र धितोपत्र बोर्डले यस्ता संस्थागत लगानीकर्ताहरूलाई बजारमा ल्याउन सके बजारको दीर्घकालीन विकास हुनेछ।
विदेशी लगानीकर्तालाई आकर्षित गर्न आवश्यक नीतिगत सुधार र प्रोत्साहनको खाँचो छ। एलएलसी, एमएफसीजस्ता संस्थाहरू नेपालमा भित्राउन सकेमा ठूला आयोजना, परियोजना र कम्पनीहरूको स्थापना हुने छ। यसले नेपाली शेयर बजारलाई थप बलियो बनाउँदै समग्र आर्थिक विकासमा योगदान पुर्याउनेछ।
प्रश्नः विशेष गरी तपाईंले लगानी व्यवस्थापन (Portfolio Management) व्यवसाय गर्दै आउनुभएको छ। लगानी व्यवस्थापन भनेको के हो र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ?
लगानी व्यवस्थापन (Portfolio Management) भनेको नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त मर्चेन्ट बैंकिङ संस्थाले लगानीकर्ताको तर्फबाट गर्ने विभिन्न कामहरूमध्ये एक हो।
लगानी व्यवस्थापन सेवामा मुख्यतया ती लगानीकर्तालाई लक्षित गरिन्छ, जो शेयर बजारमा लगानी गर्न चाहन्छन् तर समयको अभाव छ वा पर्याप्त ज्ञान छैन। यसमा सम्झौताका आधारमा लगानीकर्ताको तर्फबाट लगानी रणनीति बनाइन्छ।
सुरुवातमा सम्झौता गरिन्छ, त्यसपछि लगानी व्यवस्थापकले नयाँ पोर्टफोलियो खोल्ने, विद्यमान पोर्टफोलियोलाई पुनः व्यवस्थित गर्ने, र भविष्यका योजनाहरू तयार गर्ने कार्य गर्दछ। यो दुई प्रकारको सेवा प्रदान गरिन्छ:
डिस्क्रिसनरी पोर्टफोलियो व्यवस्थापन: यसमा सम्पूर्ण निर्णय लगानी व्यवस्थापकको हातमा हुन्छ।
नन-डिस्क्रिसनरी पोर्टफोलियो व्यवस्थापन: यसमा लगानीकर्ताको सल्लाहअनुसार मात्र लगानी निर्णय गरिन्छ।
धितोपत्र बोर्डबाट अनुमोदित यस सेवाले लगानीकर्तालाई जोखिम कम गर्न र फाइदा अधिकतम गर्न सघाउँछ। हाम्रो प्रयास सधैं लगानीकर्ताको पोर्टफोलियो वृद्धि गर्न केन्द्रित हुन्छ।
प्रश्नः लगानी व्यवस्थापन व्यवसायमा साना लगानीकर्तालाई बढी शुल्क लगाइन्छ र ठूला लगानीकर्तालाई कम शुल्क दिइन्छ भन्ने गुनासा आउँछन्। यस विषयमा तपाईंको धारणा के हो?
लगानी व्यवस्थापन व्यवसाय भनेको लगानीकर्ता र व्यवस्थापन गर्ने संस्थाबीचको दुईपक्षीय सम्झौतामा आधारित हुन्छ। यसमा शुल्क निर्धारणको कुनै निश्चित मापदण्ड छैन, र यो दुवै पक्षको आपसी सहमतिमा निर्भर हुन्छ।
तपाईंले उल्लेख गर्नुभएको समस्याको जरा औपचारिकभन्दा अनौपचारिक पोर्टफोलियो व्यवस्थापनमा रहेको देखिन्छ। केही व्यक्ति वा संस्थाहरूले बिना अनुमति यो व्यवसाय सञ्चालन गरिरहेको भन्ने सुनिन्छ।
यसकारण, लगानीकर्ताहरूलाई सचेत हुनु जरुरी छ। उनीहरूले बिना अनुमति भएका संस्थाबाट सेवा लिनुको जोखिमबारे सोच्नुपर्छ। नेपाल सरकार र धितोपत्र बोर्डले पनि यसमा कडाइ गर्नुपर्छ, किनकि यस्तो अनौपचारिक व्यवसायले सरकारलाई करको नोक्सानी पुर्याउँछ।
धितोपत्र बोर्डले यसबारे चेतावनी जारी गरेको छ, र हामी पनि लगानीकर्ताहरूलाई सचेत बनाउने जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेका छौं।
प्रश्नः एशियन क्यापिटलले लगानी व्यवस्थापन सेवाबाट लगानीकर्तालाई कत्तिको मुनाफा दिन सकेको छ?
हाम्रो लगानी व्यवस्थापन सेवाबाट अधिकांश लगानीकर्ता सन्तुष्ट हुनुहुन्छ। हामी प्रायः शेयर बजारमै लगानी केन्द्रित गर्छौं।
तर, नाफा कति हुन्छ भन्ने कुरा बजारको समयसँग पनि निर्भर हुन्छ। उदाहरणका लागि, २०८० को असारमा लगानी गरेका र अहिले लगानी गर्ने लगानीकर्ताबीच परिणाममा फरक पर्छ।
औसतमा, हामीले वार्षिक २५-३०% को मुनाफा दिलाउन सकेका छौं। तर, सधैं नाफा मात्र हुन्छ भन्ने ग्यारेन्टी छैन। बजार लामो समयसम्म साइडवेज वा बियरिस रह्यो भने चुनौती आउँछ।
प्रश्नः हाल Venture Capital का लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिनेको संख्या बढेको सुनिन्छ। तपाईंहरूले पनि यस्तो प्रयास गर्नुभएको छ?
हो, हामीले पनि यसका लागि निवेदन दिएको झन्डै १ वर्ष भइसकेको छ।
हाम्रो योजना भनेको पुँजीको अभावमा व्यवसाय सञ्चालन गर्न नसकेका युवाहरुलाई सहयोग गर्नु हो। यो भेन्चर क्यापिटल फण्ड जस्तै हुनेछ, जसले युवाहरूलाई ठूला परियोजना र कम्पनीहरू स्थापनामा मद्दत पुर्याउनेछ।
नेपालमा यस प्रकारका संरचना सुरु भइसकेका छन्। उदाहरणका लागि, हामी मिडिया क्यापिटल र अन्य संस्थाहरूलाई लिन सक्छौं।
धन्यवाद।