तरलता भनेको के हो ?
Author
NEPSE trading
तरलता भनेको एक प्रकारको सम्पतिलाई कुनै अवरोध वा नोक्सानी विना अर्को प्रकारको सम्पतिमा परिवर्तन गर्न सक्ने क्षमता हो। सजिलैसँग खरीद बिक्री गर्न सकिने सम्पतिलाई तरल सम्पति भनिन्छ र त्यस्तो क्षमतालाई तरलता भनिन्छ। नगद, बजारयोग्य सुरक्षा पत्रहरू, बैंकमा भएको चल्ती तथा बचत निक्षेप, र अन्य चल सम्पतिहरू तरल सम्पति हुन्।
तरल सम्पत्तिको पहिचान
तरल सम्पतिको पहिचान उद्योग व्यवसायको उद्देश्य, प्रकृति, तथा कारोवारको आधारमा गरिन्छ। व्यवसायको संचालन, अल्पकालिन दायित्वहरुको सम्वोधन, भविष्यको संकटबाट बच्न, र बजारमा आउने अवसरको फाइदा लिन तरल सम्पति आवश्यक हुन्छ। तरलता र नाफादायकता बीच विपरित सम्बन्ध हुन्छ, त्यसैले अत्यधिक तरल सम्पतिको भण्डारण बुद्धिमानी हुँदैन।
तरलता र व्याजदरबीचको सम्बन्ध
तरलता र व्याजदर बीच नजिकको तर विपरित सम्बन्ध हुन्छ। अधिक तरलताले व्याजदरमा कमी ल्याउँछ, जसले बचतलाई निरुत्साहित गरी उपभोग बढाउँछ। तरलता कम हुँदा व्याजदरमा वृद्धि हुन्छ, जसले बचतलाई प्रोत्साहित गरी पूँजी निर्माण गर्न मद्दत गर्छ। व्याजदरको अत्यधिक परिवर्तन लगानी र आर्थिक क्रियाकलापका लागि प्रतिकूल हुन्छ।
तरलता व्यवस्थापन
तरलता व्यवस्थापनमा निक्षेपमा बढोत्तरी, कर्जा असुली, बैंकिंग सम्पतिको बिक्री, मुद्राबजारबाट प्राप्त सापटी आदि स्रोतहरू हुन्छन्। यसको उपयोग कर्जा प्रवाह, संचालन खर्च, कर भुक्तानी, लाभांश भुक्तानी आदि माध्यमबाट गरिन्छ। बैंकहरु कहिले तरलताको कमी त कहिले अधिक तरलताको समस्यासँग जुधिरहेका हुन्छन्।
नेपालमा तरलता व्यवस्थापन
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न उपकरणहरुको प्रयोग गर्दै तरलता व्यवस्थापन गर्छ। यसमा रिपो, रिभर्स रिपो, सोझै बिक्री, सोझै खरीद, निक्षेप संकलन, र नेपाल राष्ट्र बैंक ऋणपत्रको माध्यमबाट बजारमा तरलताको प्रवाह तथा प्रशोचन गर्ने काम गरिन्छ। स्थायी तरलता सुविधा, अनिवार्य मौज्दात अनुपात, वैधानिक तरलता अनुपात, बैंकदर जस्ता नीतिगत दरहरुको प्रयोग पनि गरिन्छ।
तरलता व्यवस्थापनका तीन आयाम
- पहिचान: तरलतालाई प्रभाव पार्ने विभिन्न शीर्षकका मौज्दातको पहिचान, पोजिसन निक्र्योल, तथ्यांक संकलन तथा प्रशोधन।
- व्यवस्थापन: तरल सम्पतिलाई एकिकृत, समुहीकृत तथा प्रयोग गर्ने काम।
- उपयोग: तरल सम्पतिलाई अधिकतम आम्दानी हुने गरी उपयोग गर्ने काम।
उपकरणहरू
- रिपो: अल्पकालीन तरलता प्रवाह गर्ने उपकरण।
- रिभर्स रिपो: अल्पकालीन तरलता प्रशोचन गर्ने उपकरण।
- सोझै बिक्री: दीर्घकालीन तरलता प्रशोचन गर्ने उपकरण।
- सोझै खरिद: दीर्घकालीन तरलता प्रवाह गर्ने उपकरण।
- निक्षेप संकलन: असाधारण तरलता प्रशोचन गर्ने उपकरण।
- नेपाल राष्ट्र बैंक ऋणपत्र: संरचनात्मक तरलता प्रशोचन गर्ने उपकरण।
निष्कर्ष
तरलता व्यवस्थापन वित्तीय क्षेत्रको स्थायित्व र मुल्य स्थिरता कायम गर्न आवश्यक छ। नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणहरुको प्रयोग गर्दै तरलता व्यवस्थापनमा मद्दत पुर्याएको छ।