काठमाडौं — वर्षौंदेखि जलविद्युत् कम्पनीको बाहुल्य रहेको नेपालको प्राथमिक सेयर (आईपीओ) बजारमा अब उत्पादनमूलक क्षेत्रका ठूला उद्योग भित्रिने तयारीमा छन् । धितोपत्र बोर्ड (सेबोन) को पाइपलाइनमा रहेका कम्पनीको सूचीले आउँदा दिनमा यो बजारको बनोटै फेरिने संकेत गरेको छ ।
विगतमा बजारमा आउने अधिकांश आईपीओ जलविद्युत् कम्पनीकै हुने गरेका थिए । यसले लगानीकर्तालाई विभिन्न क्षेत्रमा पुँजी छर्ने, अर्थात् क्षेत्रगत विविधीकरणको अवसर साँघुरो बनाइदिएको थियो । तर सिमेन्ट, स्टिल, लगानी र सञ्चारजस्ता क्षेत्रका ठूला कम्पनी सेयर निष्कासनको तयारीमा रहेपछि अब लगानीकर्ताले फरक–फरक प्रकृतिका उद्योगमा लगानी गर्ने मौका पाउने भएका छन् ।
पाइपलाइनमा रहेका जगदम्बा स्टिल्स, अम्बे स्टिल्स, गोदावरी स्टिल, सौर्य सिमेन्ट, मारुती सिमेन्ट्स, रिद्धिसिद्धि सिमेन्ट, भूगर्भ सिमेन्ट र सुभश्री अग्नि सिमेन्ट उद्योगजस्ता कम्पनीले ठूलो परिमाणमा आईपीओ ल्याउने तयारी गरेका छन् । यसैगरी डिश मिडिया नेटवर्क (डिशहोम) र शिवम होल्डिङ्सजस्ता कम्पनीले पनि बजार प्रवेशको योजना बुनेका छन् ।
विश्लेषकहरू उत्पादनमूलक कम्पनीको यो आगमनलाई नेपाली सेयर बजारको गुणस्तर उकास्ने अवसरका रूपमा हेर्छन् । जलविद्युत्को तुलनामा यस्ता उद्योगको आम्दानी, नगद प्रवाह र व्यावसायिक गतिविधि बढी विविध हुने भएकाले लगानीकर्ताले नयाँ विकल्प पाउने उनीहरूको भनाइ छ ।
सिमेन्ट र स्टिल त मुलुकको पूर्वाधार विकाससँग सिधै गाँसिएका उद्योग हुन् । यिनी सेयर बजारमा सूचीकृत हुँदा वास्तविक क्षेत्र (रियल सेक्टर) र पुँजी बजारबीचको साइनो अझ बाक्लो हुने अपेक्षा गरिएको छ ।
यद्यपि कतिपय कम्पनीले उच्च प्रिमियम मूल्यमा आईपीओ ल्याउने तयारी गरेकाले लगानीकर्ताले हतारमा निर्णय नगर्न विज्ञहरूले सचेत गराएका छन् । कम्पनीको वित्तीय अवस्था, नाफा, सम्पत्ति र भविष्यको सम्भावना राम्ररी केलाएर मात्र लगानी गर्नु उपयुक्त हुने उनीहरूको सुझाव छ ।
बजार जानकारका दृष्टिमा उत्पादनमूलक कम्पनीको संख्या बढ्नु नेपाली पुँजी बजार परिपक्व हुँदै गएको संकेत हो । यसले जलविद्युत्मै केन्द्रित बजारलाई बहुआयामिक बनाउने र दीर्घकालमा स्थायित्व थप्ने अपेक्षा गरिएको छ ।





