दोर्दी खोला जलविद्युत कम्पनीले आफ्ना लगानीकर्ताहरूका लागि १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने घोषणा गरेको छ। कम्पनीले यही चैत १९ गते मंगलबारदेखि १ः१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यो शेयरको अंकित मूल्य १ सय रुपैयाँ तोकिएको छ, जसअनुसार कुल १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको शेयर जारी हुनेछ।
लगानीकर्ताहरूले २०८२ वैशाख ८ गतेसम्म सानिमा क्यापिटल, सानिमा बैंकका तोकिएका शाखा वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्कासनपछि यो रकम दोब्बर भई २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ। यो कदमले कम्पनीको वित्तीय आधार बलियो बनाउन र भावी योजनाहरूमा लगानी विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।





