बैंकहरूमा अधिक तरलता: २ खर्ब ३७ अर्ब राष्ट्र बैंकमा जम्मा
Author
NEPSE trading

बैंक तथा वित्तीय संस्थाहरूले कर्जा लगानी गर्न नसकेको २ खर्ब ३७ अर्ब ८५ करोड रुपैयाँ नेपाल राष्ट्र बैंकमा जम्मा भएको छ। बैंकिङ प्रणालीमा अधिक तरलता बढेपछि बैंकहरूले चैत २५ गते सोमबारसम्म स्थायी निक्षेप सुविधा (एसडीएफ) र निक्षेप संकलन उपकरणमार्फत उक्त रकम केन्द्रीय बैंकमा राखेका हुन्।
सोमबार एकै दिनमा बैंक तथा वित्तीय संस्थाहरूले १ खर्ब २७ अर्ब ७० करोड रुपैयाँ राष्ट्र बैंकमा जम्मा गरेका छन्। जसमा ९६ अर्ब ४० करोड एसडीएफ र ३१ अर्ब ३० करोड निक्षेप संकलन उपकरणमार्फत राखिएको छ। बैंकहरूले निक्षेप संकलन उपकरणमा लगानी घटाएर एसडीएफमा बढी रकम राख्न थालेका छन्, जसले कर्जा विस्तारको अपेक्षा बढाएको देखिन्छ।
राष्ट्र बैंकले सोमबार निक्षेप संकलन उपकरणमार्फत २३ दिनका लागि ३५ अर्ब तरलता प्रशोचन गर्न खोज्दा ९ वटा बैंक तथा वित्तीय संस्थाले ३१ अर्ब ३० करोड मात्र जम्मा गरे। यसको औसत ब्याजदर २.९९ प्रतिशत कायम भएको छ। हाल निक्षेप संकलन उपकरणमा १ खर्ब ४१ अर्ब ४५ करोड परिपक्क हुन बाँकी छ। चालु आर्थिक वर्षको सुरुदेखि चैत २५ गतेसम्म राष्ट्र बैंकले ६३ पटकमा २१ खर्ब ७ अर्ब २५ करोड तरलता प्रशोचन गरेको छ।
राष्ट्र बैंकले अन्तरबैंक ब्याजदर ३ प्रतिशतभन्दा माथि गए तरलता बजारमा पठाउने र तल झरे बजारबाट खिच्ने नीति लिएको छ। निक्षेप संकलनमा मागअनुसार रकम नदिए पनि बैंकहरूले एसडीएफमा अघिल्लो पटकको तुलनामा ३ अर्ब ६५ करोड बढी राखेका छन्। एसडीएफमा राखिएको रकम ३ दिनमा परिपक्क हुन्छ।
गत वर्ष फागुनदेखि राष्ट्र बैंकले ब्याजदर कोरिडोर प्रभावकारी बनाउन एसडीएफ सुविधा सुरु गरेको थियो। प्रणालीमा तरलता बढ्दै गए पनि कर्जाको माग नबढेपछि बैंकहरूले अल्पकालीन उपकरणमा लगानी गरेर आम्दानी गरिरहेका छन्। चालु आर्थिक वर्षमा हालसम्म बैंकहरूले १४६ खर्ब ९५ अर्ब ७५ करोडको एसडीएफ उपयोग गरेका छन्।
खुला बजार कारोबार कार्यविधिअनुसार हरेक आइतबार, मंगलबार र बिहीबार एसडीएफ उपलब्ध हुन्छ। आइतबार सार्वजनिक बिदा परेकाले सोमबार उपलब्ध गराइएको रकम चैत २६ गते परिपक्क हुनेछ। यो रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना नहुने तर वैधानिक तरलता अनुपात र खुद तरल सम्पत्ति अनुपातमा गणना हुने व्यवस्था छ।
हाल बैंकिङ प्रणालीमा ६७ खर्ब ८५ अर्ब निक्षेप छ भने ५४ खर्ब ७१ अर्ब कर्जा लगानी भएको छ। निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्थाअनुसार हाल कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ७९.३८ प्रतिशत छ। यस आधारमा बैंकहरूसँग करिब ६ खर्ब ३५ अर्ब लगानीयोग्य रकम रहेको देखिन्छ।