नेप्सेमा नयाँ सालको सुखद सुरुवात, मिडल ब्यान्ड ब्रेक गर्दै २७ अंकको उछाल
Author
NEPSE trading

वि.सं. २०८२ को पहिलो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सकारात्मक सुरुवात भएको छ। नेप्से परिसूचक २७.१४ अंक बढेर २६८९.२२ विन्दुमा बन्द भएको छ। लामो समयको उतारचढावपछि बजारले मिडल ब्यान्ड (२० दिने मुभिङ एभरेज) ब्रेक गर्न सफल भएको छ। विश्लेषकहरूले २७०० माथि बन्द भएको भए अझ सकारात्मक संकेत हुने बताएका छन्। अब बजारको नजर ५० दिने मुभिङ एभरेज (50MA) मा छ, जुन आगामी दिनमा महत्वपूर्ण स्तर बन्न सक्छ।
कारोबार रकममा उछाल, बाराही हाइड्रोपावरको २ अर्ब माथिको कारोबार
मंगलबार बजारमा कारोबार रकम ८ अर्ब ५४ करोड ४३ लाख ५७ हजार पुगेको छ। कुल ३२० कम्पनीका ६९ हजार ३६४ कारोबारमा २ करोड १८ लाख ४१ हजार कित्ता शेयर किनबेच भए। बाराही हाइड्रोपावरको २ अर्ब १ करोड २९ लाख ९३ हजार रुपैयाँको शेयर कारोबार भयो, तर यसको शेयरमूल्य ९.६९% घटेर २३०.४६ रुपैयाँमा झरेको छ। दोस्रो र तेस्रो स्थानमा एनआरएन इन्फ्रास्ट्रक्चर (४२ करोड) र राधी विद्युत (३६ करोड) रहे।
सकारात्मक सर्किट र शेयरमूल्यमा वृद्धि
यस दिन पाँच कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा पुग्यो। कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले लाभ लिए। गुराँस लघुवित्तको शेयरमूल्य ५.५% र सुपर मादी हाइड्रोपावरको ६% भन्दा बढी उकालो लाग्यो।
उपसमूहको प्रदर्शन
१३ मध्ये ११ उपसमूहको परिसूचक सकारात्मक रह्यो। लगानी उपसमूह २.७१% र विकास बैंक उपसमूह २.५% ले बढे। जलविद्युत, वित्त, होटल तथा पर्यटन, उत्पादन र निर्जीवन बीमा उपसमूह १% भन्दा माथि उक्लिए। व्यापार र म्युचुअल फण्ड भने सामान्य घटे।
प्राविधिक विश्लेषण
चार्टअनुसार नेप्सेले मिडल ब्यान्ड (20MA) माथि ब्रेकआउट गरेको छ। भोल्युममा उल्लेख्य वृद्धि देखिएको छ, जुन सकारात्मक संकेत हो। MACD सूचकले पनि बजारमा गति देखाएको छ। अब 50MA माथि बलियो समर्थन पाएमा बजार थप उकालो लाग्न सक्छ।
लगानीकर्ताको चासो र अन्योल
जगदम्बा समूहजस्तो बलियो व्यावसायिक समूहको प्रमोटर शेयर बिक्रीले बजारमा चर्चा जन्माएको छ। लगानीकर्ताहरूले यस्तो समूहलाई शेयर बिक्री गर्नुपर्ने आर्थिक संकट के भयो भनी प्रश्न उठाएका छन्। यसले बजारमा केही अन्योल ल्याए पनि समग्रमा हरियालीले उत्साह थपेको छ।
आगामी सम्भावना
कम ब्याजदर, बैंकहरूमा तरलता र सकारात्मक आर्थिक सूचकले बजारलाई बल दिएको छ। लगानीकर्ताहरू अब तेस्रो त्रैमासिक वित्तीय नतिजा र राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिको पर्खाइमा छन्। राम्रा नतिजा र बजारमैत्री नीतिले नेप्सेलाई नयाँ उचाइमा पु¥याउन सक्छ।