वैदेशिक रोजगारको नाममा ६६ लाख ठगी गर्ने चार जना पक्राउ
Author
NEPSE trading
विदेशमा रोजगारीको प्रलोभन देखाउँदै ६६ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।
पक्राउ पर्नेमा गोरखा गण्डकी गाउँपालिका–२ का कुलबहादुर थापा (४३), गोरखा गण्डकी नगरपालिका–२ का राजन आले (३१), पर्सा वीरगञ्ज–१६ का जयप्रकाश चौरसिया (३०) र भक्तपुर सूर्यबिनायक नगरपालिका–५ का आकाश दुलाल (२७) रहेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार यी व्यक्तिहरूले बेरोजगार युवालाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न देशमा रोजगारीका लागि पठाउने बहानामा ठगी गरेका हुन्।
पक्राउ परेकामध्ये थापा र आलेले अमेरिका पठाइदिने भन्दै ५९ लाख २५ हजार, चौरसियाले अजरबैजान पठाइदिने भन्दै ४ लाख र दुलालले युएई पठाइदिने भन्दै ३ लाख ५५ हजार रकम असुलेका थिए। उनीहरूले रकम लिएर सम्पर्कविहीन भएपछि पीडितहरूले उजुरी दिएका थिए।
ठगीका अभियुक्तहरूलाई थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँमा पठाइएको प्रहरीले जानकारी दिएको छ।