लगानीकर्तालाई सचेत रहन सुझाव, ननफण्डामेन्टल स्टकले फसाउने खतरा: काका
Author
NEPSE trading
काठमाडौं, धुम्बाराही – नेपालका चर्चित लगानीकर्ता केशब कोइराला (काका) ले लगानीकर्तालाई छाेटाे समयमा धेरै नाफा नखाेज्न सुझाव दिएका छन्। ब्राेकर नं ६३ (हिमालयन ब्राेकरेज) ले काठमाडौंको धुम्बाराहीमा आयोजना गरेको लगानीकर्ता सचेतना कार्यक्रमकाे क्रममा उनले यो सुझाव दिएका हुन्।
कार्यक्रममा बोल्दै कोइरालाले ननफण्डामेन्टल स्टकमा लगानी गरेर बढी नाफा कमाउने प्रयासले धेरै लगानीकर्ता फस्ने गरेको धारणा व्यक्त गरे। उनले कर्णाली विकास बैंकको स्थितिलाई उदाहरण दिँदै ठुलो नाफाको लागि अत्यधिक जोखिम मोल्न नहुने चेतावनी दिए। राम्राे फण्डामेन्टल भएका कम्पनीहरूमा लगानी बढ्न नसक्दा बजार पनि माथि जान गाह्रो भएको उनको भनाइ थियो।
कार्यक्रममा विशेष अतिथिको रूपमा सहभागी भएका जगन्नाथ थपलिया (मामा) ले बजारमा ट्रेडरहरूको प्रभाव बढी भएको र त्यसले गर्दा बजार माथि जान नसकेको धारणा राखे।
ब्राेकर नं ६३ का बलराम राईले लगानीकर्ता सचेतना अभियानलाई देशव्यापी रुपमा विस्तार गर्दै जाने प्रतिवद्धता जनाए। उनले नियमित रुपमा यस्ता कार्यक्रम सञ्चालन गरेर लगानीकर्तालाई सही दिशा देखाउने प्रयास जारी राख्ने आश्वासन दिए।
यहाँ सहभागी लगानीकर्ताहरूले पनि यस्तो कार्यक्रमले आफूहरूलाई सचेत र सुरक्षित तरिकाले लगानी गर्न प्रेरित गर्ने बताए।
कार्यक्रमको संयोजन ६३ का संचालक सराेज ढकालले गरेको थिए ।