कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीले कर्णाली अब दुर्गम भूगोल मात्र नभई विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा चिनिन थालेको बताए । उनले रारा, शे–फोक्सुण्डो, गुराँसे, हुम्ला र डोल्पाजस्ता गन्तव्यलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औंल्याए ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव मुकुन्दप्रसाद निरौलाले कर्णालीलाई नेपाली सभ्यता, हिमाली संस्कृति र जैविक विविधताको “जीवन्त संग्रहालय” को संज्ञा दिए । अहिले विश्व पर्यटन बजार कृत्रिम संरचनाभन्दा मौलिक अनुभवतर्फ आकर्षित भइरहेको भन्दै उनले कर्णालीले त्यही विशिष्टता बोकेको उल्लेख गरे ।
नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख हिक्मतसिंह ऐरले भारतीय पर्यटकका लागि कर्णाली आकर्षक गन्तव्य बन्न सक्ने बताए । सीमाबाट छोटो दूरीमै पुग्न सकिने भएकाले भारतीय बजार लक्षित पर्यटन प्याकेज र सेवा गुणस्तरमा सुधार आवश्यक रहेको उनको भनाइ थियो ।
कार्यक्रममा सहभागी भारतीय पर्यटन व्यवसायीहरूले पनि कर्णालीलाई नयाँ पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरूले कर्णालीको मौसम, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता भारतीय पर्यटकका लागि विशेष आकर्षण बन्न सक्ने बताएका छन् ।
कार्यक्रमअन्तर्गत भारतीय पर्यटन व्यवसायी र पत्रकारहरूलाई दैलेख, गुराँस तथा सुर्खेतका विभिन्न पर्यटकीय क्षेत्रको अवलोकन गराइने भएको छ । आयोजकहरूले सरकारी, निजी क्षेत्र र स्थानीय तहबीच सहकार्य भए कर्णाली नेपालको नयाँ “हाई भ्यालु टुरिजम् डेस्टिनेशन” बन्न सक्ने विश्वास व्यक्त गरेका छन् ।





