·

सुधारको संकेत न्यून, राष्ट्र बैंकको निगरानीमा रहेका वित्तीय संस्थाको अवस्था चिन्ताजनक

Author

NEPSE trading

सुधारको संकेत न्यून, राष्ट्र बैंकको निगरानीमा रहेका वित्तीय संस्थाको अवस्था चिन्ताजनक

नेपाल राष्ट्र बैंकले उच्च निगरानीमा राखेका एक दर्जनभन्दा बढी विकास बैंक र फाइनान्स कम्पनीको वित्तीय अवस्था कमजोर बन्दै गएको पाइएको छ। केन्द्रीय बैंकको पछिल्लो दोस्रो त्रैमासिक अध्ययनले यीमध्ये केही विकास बैंकको अवस्थामा सामान्य सुधार देखिए पनि फाइनान्स कम्पनीहरूको अवस्था झन् बिग्रिएको जनाएको छ।

राष्ट्र बैंकले गत पुस १० मा कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरी नियन्त्रणमा लिएपछि पोखरा फाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, समृद्धि फाइनान्स, सेन्ट्रल फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकसहितका संस्थालाई निगरानीमा राखेको छ। अध्ययनअनुसार नारायणी डेभलपमेन्ट बैंकको खराब कर्जा अनुपात ४७.५५ प्रतिशत पुगेको छ, जुन पहिलो त्रैमासको ४२.५३ प्रतिशतबाट बढेको हो। त्यस्तै, जानकी फाइनान्सको खराब कर्जा ४०.८९ प्रतिशत, पोखरा फाइनान्सको ३३.४४ प्रतिशत, समृद्धि फाइनान्सको १९.३० प्रतिशत, गोर्खाज फाइनान्सको १४.४२ प्रतिशत र रिलायन्स फाइनान्सको १४.३१ प्रतिशत रहेको छ। सेन्ट्रल फाइनान्स, नेपाल फाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको खराब कर्जा पनि दोहोरो अंकमा रहेको तथ्यांकले देखाएको छ।

राष्ट्र बैंकको नियन्त्रणमा रहेका नेपाल शेयर मार्केट, क्यापिटल मर्चेन्ट बैंकिङ र कर्णाली डेभलपमेन्ट बैंकबाहेक अन्य संस्थाहरूको अवस्था पनि चिन्ताजनक छ। दोस्रो त्रैमासमा ५ विकास बैंक र ३ फाइनान्स कम्पनीको खराब कर्जा घटे पनि ५ फाइनान्स र ३ विकास बैंकको खराब कर्जा बढेको छ। राष्ट्र बैंकले न्यूनतम पुँजी कोष अनुपात कायम नगर्ने संस्थालाई समस्याग्रस्त घोषणा गरी ६ महिनाभित्र सुधारको अवसर दिने र त्यसमा प्रगति नभए मर्जर, एक्विजिसन वा लाइसेन्स रद्द गर्ने नीति लिएको छ। तर, गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिन लागेकाले यो विषय हाल थाती राखिएको छ।

वित्तीय क्षेत्रका जानकारहरूले खराब कर्जाको अनुपात उच्च रहनु र सुधारको गति सुस्त हुनुले यी संस्थाहरूको भविष्य अनिश्चित बनेको बताएका छन्। राष्ट्र बैंकको प्रभावकारी कदम र नयाँ नेतृत्वको प्राथमिकताले मात्र यो संकट समाधान हुने उनीहरूको भनाइ छ।

Related News