संस्थापक समूहको शेयर बिक्री गर्ने बारेको शिलबन्दी बोलपत्र आह्वान सम्बन्धी सूचना
शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने सुरु मिति: २०८३/०२/२३ गते
संस्थापक समूह:
निरु कुसुमी राई : ७४,२४६ कित्ता
इन्दिरा गिरी : १०,२१९ कित्ता
शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने अन्तिम मिति: २०८३/०३/०७ गते अपरान्ह ३:०० बजेसम्म
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीहरु निरु कुसुमी राईको नाममा रहेको ७४,२४६ कित्ता र इन्दिरा गिरीको नाममा रहेको १०,२१९ कित्ता गरी संस्थापक समूहको जम्मा ८४,४६५ कित्ता शेयर प्रति कित्ता न्यूनतम मूल्य रु.५१५/- (अक्षरेपी पाँच सय पन्ध्र रुपैयाँ मात्र) मा बिक्री गर्ने भएको हुँदा उक्त संस्थापक शेयरहरु खरीद गर्न ईच्छुक जो कोही व्यक्ति तथा सङ्गठित संस्थाहरुले मिति २०८३/०३/०७ गते भित्र बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाडौँमा आइपुग्ने गरी प्रति कित्ताको दर रेटमा लिन कबुल गर्ने हो तपसिलमा उल्लिखित शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न आह्वान गरिन्छ ।
शर्तहरु:
- बोलपत्र आवेदन फाराम रु. २००/- (दुई सय) नगद भुक्तानी गरी नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाडौंबाट प्राप्त गर्न सकिनेछ ।
- शेयरको न्यूनतम मूल्य प्रति शेयर रु.५१५/- (अक्षरेपी पाँच सय पन्ध्र रुपैयाँ मात्र) तोकिएको हुँदा सो सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । एकै व्यक्ति वा कम्पनीले विभिन्न मूल्यमा शेयर खरीदको लागि आवेदन दिन चाहेमा भिन्न भिन्नै शिलबन्दी खाम भित्र आवेदन दिनुपर्नेछ ।
- बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अङ्क र अक्षरमा स्पष्ट लेख्नुपर्नेछ । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कबुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्य वा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रलाई मान्यता दिइने छैन । अङ्क र अक्षरमा फरक परेमा अक्षरमा लेखिएको व्यहोरालाई मान्यता दिइनेछ ।
- बोलपत्रदाताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, हितग्राही खाता नं., आफ्नो खाता रहेको बैंकको नाम र खाता नं., टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लिखित सम्पूर्ण विवरण स्पष्ट रुपमा उल्लेख गर्नुपर्नेछ ।
- बोलपत्र पेश गर्दा संस्थापक तर्फ न्यूनतम १,००० कित्ताको लागि आवेदन दिनुपर्नेछ भने सो भन्दा बढीको लागि १० को गुणाणमा वा सम्पूर्ण कित्ता खरीदको लागि आवेदन दिनपाउनेछन् । आवेदन दिनेले अनिवार्य रुपमा आफ्नो स्थायी लेखा नं. (प्यान) आवेदन फाराममा उल्लेख गर्नुपर्नेछ ।
- शिलबन्दी खाम बाहिर आवेदनकर्ताले “महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरीद आवेदन” उल्लेख गरेको हुनु पर्नेछ ।
- आवेदनका साथ देहायका कागजात संलग्न गर्नुपर्नेछ ।
क) आवेदक प्राकृतिक व्यक्ति भएमा आवेदनका साथ एक प्रति फोटो, आवेदक स्वयंले प्रमाणित गरेको नागरिकता प्रमाणपत्रको प्रतिलिपि, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको प्रमाणपत्र, आयश्रोत खुल्ने कागजात, प्रहरी प्रतिवेदन, नेपाल राष्ट्र बैंकबाट तोकिएको फाराम Fit & proper Test.
ख) आवेदक सङ्गठित संस्था/कम्पनी भएमा कम्पनीको दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, वित्तीय विवरण, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र तथा शेयर खरीद गर्न सम्बन्धमा सो संस्थाको सञ्चालक समितिको निर्णयको प्रतिलिपि, कर्जा सूचना केन्द्रको कालो सूचीमा नरहेको प्रमाणपत्र (कम्पनी लगायत, सम्पूर्ण सञ्चालकहरु), नेपाल राष्ट्र बैंकबाट तोकिएको फाराम Fit & proper Test.
८. बोलपत्रदाताले आफूले खरीद गर्न चाहेको शेयरको सम्पूर्ण रकम शेयर खरीद आवेदन फाराममा उल्लिखित बैंक खातामा नगद जम्मा गरी सोको सक्कल बैंक भौचर वा NSMBL-Mahila Auction-२०८१ को नाममा जारी गरिएको Good For Payment वा Manager's Cheque संलग्न गर्नुपर्नेछ । सो नभएको चेकलाई मान्यता दिने छैन । साथै Good For Payment वा Manager's Cheque राफसाफ गर्दा लाग्ने Clearing शुल्क आवेदक स्वयंले नै व्यहोर्नु पर्नेछ ।
९. Swift Transfer/IPS/RTGS को माध्यमबाट रकम जम्मा गर्न चाहने व्यक्ति वा संस्थाले Swift Transfer/IPS/RTGS आदेशको कपी र खातामा रकम जम्मा भएको कपी संलग्न राखी आवेदन दिन सक्नेछन् । यसरी जम्मा भएको रकम बोलपत्र पेश गर्ने अन्तिम दिनसम्ममा तोकिएको खातामा जम्मा भईसकेको हुनुपर्नेछ ।
- बोलपत्र आवेदन मिति २०८३/०३/०७ गते अपरान्ह ३:०० बजेभित्र यस नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाडौँमा दर्ता भईसक्नु पर्नेछ ।
- बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबुल गरेको शेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन ।
- प्राप्त शिलबन्दी बोलपत्रहरु मिति २०८३/०३/०८ गते दिउँसो ३:०० बजे नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड, कमलादी, काठमाडौँमा बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थितिमा खोलिने छ । बोलपत्रवाला वा निजको प्रतिनिधिको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । उक्त दिन विदा परेमा कार्यालय खुलेको दिनमा अपरान्ह ३:०० बजे शिलबन्दी बोलपत्र खोलिनेछ ।
- कुनै शर्त राखी पेश गरेको वा रित नपुगेको वा म्याद नाघी आएको बोलपत्रलाई मान्यता दिइने छैन ।
- प्राप्त बोलपत्रहरुको छानविन गरी रितपूर्वक प्राप्त बोलपत्रहरु मध्ये सबैभन्दा बढी बोलकबोल गर्ने आवेदकहरुलाई शेयर बाँडफाँट गरिनेछ । यसबाट पनि शेयर बाँकी रहेमा त्यसपछिको बढी रकम कबुल गर्नेलाई क्रमशः बाँडफाँट गरिनेछ । बोलकबोलमा शेयर बिक्री गर्दै जाँदा एउटै मूल्यमा दुई वा दुई भन्दा बढी बोलबोलपत्र आवेदनहरु पर्न गई बाँडफाँट हुन बाँकी शेयरभन्दा बढी माग भएमा माग गरेको शेयरको आधारमा समानुपातिक रुपमा शेयर बाँडफाँट गरिनेछ ।
- नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको स्वीकृति पश्चात बाँडफाँट गरिएको संस्थापक शेयर नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कायम भएको अन्तिम कारोबार मूल्यको आधारमा प्रचलित धितोपत्र कारोबार नियम बमोजिम बोलपत्रदाताको खातामा जम्मा गरिनेछ । सो सम्बन्धी लाग्ने कारोबार खर्च बोलपत्रदाता स्वयंले व्यहोर्नु पर्नेछ ।
- बोलपत्र आवेदनहरुमध्ये बाँडफाँटमा नपरेको शेयर वापत जम्मा भएको रकम “धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४” मा तोकिएको समयावधिमा IPS मार्फत आवेदकहरुको बैंक खातामा रकम फिर्ता भुक्तानी गर्ने व्यवस्था गरिनेछ । साथै, यस्तो फिर्ता गरिने रकममा कुनै ब्याज प्रदान गरिने छैन । IPS मा लाग्ने शुल्क आवेदक आफैले व्यहोर्नु पर्नेछ ।
- यस सूचना बमोजिम निष्काशन गरिएको शेयरका लागि लिलाम बढाबढ गर्दा सबै शेयर खरीदका लागि दरखास्त नपरे बाँडफाँट गरी बाँकी रहेको शेयर पुन लिलाम बढाबढ गरी बिक्री गरिनेछ ।
- शेयर बिक्री गर्ने वा नगर्ने वा आवेदनमा माग गरेको भन्दा कम शेयर बाँडफाँट गर्ने तथा बोलपत्र आवेदन तथा शेयर बाँडफाँट सम्बन्धी कुनै विवाद उत्पन्न भएमा सो को अन्तिम निर्णय गर्ने अधिकार बिक्री गर्ने संस्थापक शेयरधनीमा निहित रहनेछ ।
- बाँडफाँट भएको शेयर कित्ताको दोस्रो बजार मार्फत राफसाफ गर्दा विद्यमान अभ्यास अनुसार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कायम भएको अन्तिम कारोबार मूल्यको आधारमा सम्पन्न हुनेछ ।
बिक्री प्रबन्धक:
नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड
Nepal SBI Merchant Banking Ltd.
कमलादी काठमाडौँ




