हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको
सत्रौँ र अठारौँ वार्षिक साधारण सभाको माइन्यूट
यस हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको मिति २०८१ साल असार २६ गते शुक्रबारका लागि बोलाइएको कम्पनीको सत्रौँ र अठारौँ वार्षिक साधारण सभा टोखेल, ललितपुर स्थित बिग बेङक्वेट एण्ड इभेन्ट्स् प्रा. लि. को सभा हलमा संचालक समितिका अध्यक्ष श्री रञ्जना दाहालज्यूको अध्यक्षतामा बिहानको ९:३० बजे बसी निम्नबमोजिमको प्रस्तावहरूउपर छलफल भई निम्नानुसार निर्णय गरियो ।
सभाको सूचना
कम्पनीको संचालक समितिको ५६ औँ बैठकले कम्पनीको सत्रौँ र अठारौँ वार्षिक साधारण सभा मिति २०८१/०३/०४ गते बोलाउनको लागि कम्पनी ऐन, २०६३ को दफा ६७ को उपदफा २ को व्यवस्थाबमोजिम सभा हुने मिति, समय, स्थान, शेयर दाखिला खारेज दर्ता किताब बन्द रहने सम्बन्धित सूचना क्रमशः मिति २०८१/०२/१४ र १५ गतेको नेपाली राष्ट्रिय दैनिक नेपाल समाचार पत्र पत्रिकामा प्रकाशन गरिएको थियो । मिति २०८१/०३/०४ गते बिहान १०:०० बजे काठमाडौ, सुकेधारा स्थित सेलिब्रेशन पार्टी हलमा तय गरिएको वार्षिक साधारण सभामा शेयरधनीहरूको स्वयं एवं प्रोक्सी मार्फत भएको उपस्थितिमा कम्पनी ऐन तथा कम्पनीको नियमावलीको व्यवस्थाबमोजिम आवश्यक गणपूरक संख्या अपुग भई साधारण सभा स्थगित गरिएको थियो । कम्पनीको संचालक समितिको मिति २०८१/०३/०४ गते बसेको ५८ औँ बैठकको निर्णयले उक्त स्थगित साधारण सभा आज मिति २०८१/०३/२६ गते तय गरी सभा हुने मिति, समय र स्थान को बारेमा शेयरधनी महानुभावहरूलाई जानकारीको लागि मिति २०८१/०३/०५ गते को नेपाल समाचार पत्र नेपाली राष्ट्रिय दैनिक पत्रिकामा पुनः सूचना प्रकाशन गरिएको थियो ।
त्यासैगरी यसरी प्रकाशन गरिएको सूचनासहित आ. व. २०८०/८१ र २०८१/८२ को लेखापरीक्षण सम्पन्न भएको वासलात, आय-व्यय हिसाब र नगद प्रवाह विवरणसहितको संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु हुने संचालक समितिको वार्षिक प्रतिवेदन कम्पनीको वेवसाईटमा समेत शेयरधनी महानुभावहरूको जानकारीको लागि उपलब्ध गराइएको थियो ।
सभाको वैधानिकता
कम्पनीको सत्रौँ र अठारौँ वार्षिक साधारण सभा कम्पनी ऐन, २०६३ तथा नियमावली अनुसार पुनः बोलाइएको हुँदा कम्पनीको बाँडफाँड भएको कुल शेयर संख्याको २५ प्रतिशत भन्दा बढी शेयरधनीहरूको प्रतिनिधित्व हुने गरी कुल शेयरधनीहरू मध्ये ३ जना शेयरधनीको उपस्थिति हुनुपर्ने प्रावधान रहेकाले कम्पनीको सत्रौँ र अठारौँ वार्षिक साधारणसभामा राखिएको शेयरधनीको हाजिरीपुस्तिकामा स्वयं तथा प्रोक्सी मार्फत हाजिर जनाउने शेयरधनी महानुभावहरूको संख्या ४१९ र शेयरको २९.०९ प्रतिशत हाजिरी भएको जानकारी बमोजिम साधारणसभाको गणपूरक संख्या पुगेको र प्रचलित कम्पनी कानून अनुसार सभा वैधानिक भएकाले सभाको अध्यक्षद्वारा सभा संचालन गरियो ।
संचालक समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत:
सभाका अध्यक्ष श्री रञ्जना दाहाल ज्यूबाट कम्पनीको संचालक समितिको तर्फबाट आ. व. २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन सभा समक्ष प्रस्तुत गरी सभामा उपस्थित शेयरधनीमहानुभावहरूलाई निम्न प्रस्तावहरू उपर छलफल गरी निर्णयको लागि प्रस्ताव गरियो ।
प्रस्तावहरू :
१) संचालक समितिको तर्फबाट अध्यक्षज्यूले प्रस्तुत गर्नु भएको आ.व. २०८०/८१ र २०८१/८२ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने बारे ।
२) लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरू माथि छलफल गरी पारित गर्ने बारे ।
३) आ.व. २०८२/०८३ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने बारे ।
४) विविध ।
शेयरधनी महानुभावहरूबाट उठाईएको जिज्ञासा एवं सुझावहरू:
१) शेयरधनी श्री चन्द्र नारायण श्रेष्ठ : शेयरको मूल्य बढ़ी रहेकोछ, रेभिन्यु घट्दो अवस्थामा छ। बैंकको वेसरेट घटिरहेकोमा कम्पनीले नाफा गर्नु पर्ने नाफा गर्न सकेको छैन । बाढि पहिरोबाट हुने क्षति न्यूनिकरण तर्फ लाग्न कम्पनीलाई आग्रह गर्नु भयो । कम्पनीलाई आयोजनालाई छिटो भन्दा छिटो मर्मत गरी डिभिडेण्ड दिने वातावरण तयार गर्न आग्रह गर्नु भयो । डिभिडेण्ड नदिने कम्पनीको सूचीमा यस हिमाल दोलखा हाइड्रोपावर कम्पनी पनि रहेकोमा चिन्ता व्यक्त गर्दै वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
२) शेयरधनी श्री उत्तम दत्त पाण्डे : कम्पनीको के.वि.एन आर ईस्वा पावर लिमिटेडमा लगानी रहेको, बैंकलाई भुक्तानी गर्न बाँकी मौज्दात रकम तथा वार्षिक रूपमा कम्पनीले प्राप्त गरेको रेभिन्यु सभा समक्ष प्रस्तुत गर्नु भयो । वहाँले कम्पनीले लाभांश वितरण नगरी शेयरधनी को हात सधै खाली गरेकोले त्यस तर्फ ध्यान दिन आग्रह गर्नु भयो । साथै कम्पनीले नियमितरूपमा वार्षिक साधारण सभा गर्न आग्रह गर्नु भयो ।
३) शेयरधनी श्री सुदिप श्रेष्ठः शेयरधनीहरूले प्रतिफलको आशा गरी शेयरमा लगानी गरेको हुँदा मुनाफा प्राप्त हुन नसकेकोमा चिन्ता व्यक्त गर्नु भयो । बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपको कारणले मुनाफा गर्न नसकेको देखिँदा कम्पनीको मेनेजमेण्टले त्यस किसिमको प्राकृतिक विपत्तीबाट हुने क्षति कम गराउने तर्फ कार्य गर्न आग्रह गर्नु भयो । साथै कम्पनीको वार्षिक साधारण सभा प्रत्येक वर्ष गर्न सुझाव दिनु भयो ।
४) शेयरधनी श्री गोविन्द ब. के.सी.ः प्राकृतिक प्रकोपबाट कम्पनी पीडित भएको, आर्थिक मन्दी तथा युद्ध लगायत अन्तर्राष्ट्रिय कारणसमेतले कम्पनी घाटामा गएको देखिएको, यस किसिमको समस्या समाधान गर्न कम्पनी व्यवस्थापनलाई आग्रह गर्नु भयो । कम्पनीको वार्षिक साधारण सभा प्रत्येक वर्ष आग्रह गर्नु भयो । कम्पनीद्वारा साधारण सभाको लागि प्रस्तुत प्रस्तावहरू प्रति पूर्ण समर्थन रहेको व्यहोरा जानकारी गराउँदै वार्षिक साधारण सभाको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।
५) शेयरधनी श्री निरुपमा गुप्ता : वार्षिक साधारण सभा प्रत्येक वर्ष गर्न आग्रह गर्नु भयो । बुकभ्यालु कम देखिन्छ, त्यसलाई सुधार गर्न आग्रह गर्नु भयो । शेयरधनीलाई लाभांश दिने तर्फ कम्पनी व्यवस्थापनलाई आग्रह गर्नु भयो । फाईनान्सियल ईन्डिकेटर ऋणात्मक रहेको त्यसलाई सुधार्न आग्रह गर्नुभयो । हाइड्रोपावरको अतिरिक्त सोलर स्टोरेज प्रोजेक्ट तर्फ पनि लाग्न कम्पनीलाई सुझाव दिनु भयो । साथै कम्पनी व्यवस्थापनलाई रिक्स मेनेजमेण्ट सम्बन्धमा कस्तो योजना छ भनी प्रश्न गर्नु भयो ।
शेयरधनी महानुभावहरूबाट उठाईएको जिज्ञासा एवं सुझावहरूको संबोधन :
कम्पनीका अध्यक्ष एवं साधारणसभाको सभाध्यक्ष श्री रञ्जना दाहालज्यूले शेयरधनी महानुभावहरूले उठाउनुभएको जिज्ञासा एवं प्रश्नको सम्बन्धमा कम्पनीका पूर्व लेखा कर्मचारी श्री सुधिर लामिछानेज्यूलाई संचालक समिति एवं व्यवस्थापनको तर्फबाट स्पष्ट पारिदिन आग्रह गर्नु भए बमोजिम लामिछानेले शेयरधनी महानुभावहरूले कम्पनीलाई सल्लाह, सुझाव दिनु भएकोमा विशेष धन्यवाद ज्ञापन गर्नु भयो । शेयरधनी महानुभावहरूले उठाउनु भएको प्रोजेक्ट मेनेजमेन्टको लागि कम्पनीमा टपकलासको मेनेजमेण्ट टिमले कार्य गरिरहेको जानकारी गराउँनु भयो । हाल आयोजनामा भएको क्षतिको मर्मत संभार गरी संचालन गर्न, आगामी दिनमा कसरी क्षतिलाई कम गर्न सकिन्छ भनेर कम्पनी निरन्तर कार्य गरिरहेको व्यहोरा शेयरधनी महानुभावहरूलाई जानकारी गराउनु भयो । शेयरधनी महानुभावहरूले उठाउनु भएको लाभांशको विषयमा कम्पनीले शेयरमा लगानी गरेको केविएनआर इस्त्वा पावर लिमिटेड(१७.२ मे.वा.) अपरेशनमा आइसकेपछि त्यस कम्पनीले प्रदान गर्ने लाभांशबाट शेयरधनीलाई लाभांश वितरण गर्न सकिने व्यहोरा जानकारी गराउनु भयो । सोलार लगायत थप प्रोजेक्टमा लगानी गर्ने विषयमा संचालक समितिले छलफल गरी उपयुक्त हुने देखिएमा लगानी गर्न सक्ने जानकारी गराउँदै शेयरधनी महानुभावहरूको सल्लाह सुझाव बमोजिम आगामी वार्षिक साधारण सभा प्रत्येक आ. व. मा तोकिएको समयमा गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
सभाबाट भएका निर्णयहरू :
सामान्य प्रस्ताव
- प्रस्ताव नं. १ : संचालक समितिको आ. व. २०८०/८१ र २०८१/८२ को संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत संचालक समितिको वार्षिक प्रतिवेदन पारित गरियोस भनी सभामा राखिएको प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरियो ।
- प्रस्ताव नं. २ : लेखा परीक्षकको प्रतिवेदन सहित आ. व. २०८०/८१ र २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत सो सँग सम्बन्धित अनुसूचीहरू पारित गरियोस भनी सभामा राखिएको प्रस्तावलाई सर्वसम्मतिबाट पारित गरियो ।
- प्रस्ताव नं. ३ : आगामी आ.व.२०८२/०८३ को लागि लेखापरीक्षण कार्यको लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमा लेखापरीक्षकमा श्री I. P. Mainali & Associates, Kathmandu लाई नियुक्त गर्ने र निजलाई पारिश्रमिकबापत् VAT सहित रू.३,३९,०००/–प्रदान गर्ने प्रस्ताव सर्वसम्म्मतिबाट पारित गरियो ।
विविध शीर्षक अन्तर्गत आजको यस सत्रौँ र अठारौँ वार्षिक साधारण सभामा छलफलका अन्य विषयहरू नरहेकोले शेयरधनी लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै सभाका अध्यक्षज्यूद्वारा सभा समापन भएको घोषणा भयो ।




