मितेरी डेभलपमेन्ट बैंक राष्ट्र बैंकको कारबाहीमा
Author
NEPSE trading
मितेरी डेभलपमेन्ट बैंक नेपाल राष्ट्र बैंकको कारबाहीमा परेको छ। नेपाल राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा बैंकलाई कारबाही गरेको हो।
राष्ट्र बैंकले बैंकलाई तोकिएको अधिकतम ब्याजदर अन्तरको सीमा पालना नगरेको भन्दै कारबाही गरेको हो। राष्ट्र बैंकले मितेरी बैंकलाई भविष्यमा यस्ता कार्य नगर्न सचेत गराएको छ।
२०८१ असार महिनामा नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २०८० को इजाजत प्राप्त निर्देशन नं १५ को बुँदा नं ९४० अनुसार ४.६० प्रतिशतको अधिकतम ब्याजदर अन्तर भन्दा बढी ब्याजदर अन्तर कायम गर्न नपाउने व्यवस्था उल्लंघन गरेको पाइएको छ।
उक्त उल्लंघनका कारण राष्ट्र बैंकले मितेरी बैंकको शाखा विस्तारमा रोक लगाएको छ। साथै, भूकम्प पीडितलाई प्रवाह गरिने पुनर्कर्जा बाहेकका अन्य पुनर्कर्जा सुविधा प्रदान नगर्ने गरी कारबाही गरिएको हो।
राष्ट्र बैंकले यस घटनालाई गम्भीर रूपमा लिँदै वित्तीय अनुशासन पालना गर्न सबै बैंक तथा वित्तीय संस्थालाई पुनः सचेत गराएको छ।