काठमाडौं — माउण्टेन इनर्जी नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा २९.०८ प्रतिशतले वृद्धि भएको छ।
कम्पनीले समीक्षा अवधिमा ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६१ करोड ७४ लाख रुपैयाँ रहेको थियो।
विद्युत् बिक्रीबाट हुने आम्दानीमा सुधार आएपछि कम्पनीको वित्तीय अवस्था मजबुत बनेको देखिएको छ। कम्पनीले यस अवधिमा विद्युत् बिक्रीबाट १ अर्ब ५३ करोड ३५ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १७.३१ प्रतिशत बढी हो।
कम्पनीको सञ्चालन मुनाफा पनि बढेर १ अर्ब रुपैयाँभन्दा माथि पुगेको छ। त्यस्तै, ब्याज खर्च घटेर २० करोड १९ लाख रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ब्याज खर्च २४ करोड ४३ लाख रुपैयाँ थियो। बीमा दाबीबापत प्राप्त ९ लाख रुपैयाँले समेत नाफा वृद्धिमा सहयोग पुगेको कम्पनीले जनाएको छ।
माउण्टेन इनर्जीको चुक्ता पुँजी ३ अर्ब १२ करोड ३२ लाख रुपैयाँ रहेको छ भने रिजर्भमा १ अर्ब ५८ करोड रुपैयाँ सञ्चित छ। हालको नाफाका आधारमा कम्पनीसँग करिब २५ प्रतिशतसम्म लाभांश दिने क्षमता देखिन्छ।
कम्पनीले मनाङमा ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजना निर्माणको तयारी गरिरहेको छ। आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न भइसकेकाले आगामी दिनमा नगद संरक्षण गर्न बोनस सेयरलाई प्राथमिकता दिन सक्ने अनुमान गरिएको छ।
कम्पनीले यसअघि पनि बोनस सेयरमा जोड दिँदै आएको छ। आर्थिक वर्ष २०७८/७९ देखि निरन्तर लाभांश वितरण गर्दै आएको कम्पनीले पछिल्लो अवधिमा प्रतिशेयर आम्दानी (EPS) २५ रुपैयाँ ५२ पैसा कायम गरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ७८ पैसा रहेको छ।
हाल कम्पनीका ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना र ५ मेगावाटको ताँदीखोला जलविद्युत् आयोजनाले नियमित विद्युत् उत्पादन गरिरहेका छन्।





