काठमाडौं — नेपाल एसबीआई बैंकले गत आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ४ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८१ करोड १० लाख रुपैयाँ नाफा गरेको बैंकको नाफा एक वर्षमा १२.८९ प्रतिशतले बढेको हो।
नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि सुधार भएको छ। अघिल्लो वर्ष १५ रुपैयाँ ९८ पैसा रहेको प्रतिशेयर आम्दानी बढेर १८ रुपैयाँ ४ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ७३ पैसा कायम भएको छ।
बैंकको खुद ब्याज आम्दानी भने सामान्य दरमा बढेको छ। यस्तो आम्दानी ५ अर्ब २६ करोड ६० लाख रुपैयाँबाट बढेर ५ अर्ब ३३ करोड ४३ लाख रुपैयाँ पुगेको छ। खुद नाफाको तुलनामा ब्याज आम्दानीको वृद्धि सीमित रहनुले नाफामा अन्य आम्दानी, खर्च व्यवस्थापन तथा कर्जा व्यवस्थापनको पनि योगदान रहेको संकेत गर्छ।
बैंकको निक्षेप २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ भने ग्राहकतर्फको कर्जा तथा सापटी १ खर्ब ४६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। बैंकसँग पर्याप्त तरलता रहे पनि कर्जा माग अपेक्षित रूपमा विस्तार हुन नसक्दा उपलब्ध स्रोतलाई गुणस्तरीय क्षेत्रमा परिचालन गर्नु चुनौती बनेको बैंकले जनाएको छ।
बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २५ करोड १६ लाख रुपैयाँ रहेको छ। चुक्ता पुँजी ११ अर्ब ३३ करोड ५१ लाख रुपैयाँ छ भने तरलता अनुपात ३७.८४ प्रतिशत कायम भएको छ।
बैंकले आगामी अवधिमा रिटेल कर्जा विस्तार, कम लागतका निक्षेप वृद्धि, गैरब्याज आम्दानीका स्रोत विस्तार र प्रविधिमा आधारित बैंकिङ सेवामा जोड दिने रणनीति लिएको छ। तनावग्रस्त कर्जाको असुली सुधार र सञ्चालन खर्च नियन्त्रणलाई पनि प्राथमिकतामा राखिएको छ।
हाल बैंकको सेवा सञ्जाल ५४ जिल्लामा फैलिएको छ। बैंकका १०३ शाखासहित १५४ आउटलेट र १२६ एटीएम सञ्चालनमा छन्।
बैंकले समग्र बैंकिङ प्रणालीमा अधिक तरलता, कमजोर कर्जा माग, सीमित दीर्घकालीन लगानी अवसर र गुणस्तरीय कर्जा विस्तारलाई मुख्य चुनौतीका रूपमा औंल्याएको छ। त्यसैले आगामी वर्ष बैंकको नाफाको गति कति टिकाउ हुन्छ भन्ने विषय कर्जा विस्तार, असुली र उपलब्ध तरलताको प्रभावकारी परिचालनमा निर्भर रहने देखिन्छ।




