·

साताको शेयर बजार : लगानीकर्तामा विश्वासको खडेरी

Author

NEPSE trading

साताको शेयर बजार : लगानीकर्तामा विश्वासको खडेरी

नेपाल शेयर बजारले पुस महिनाको तेस्रो साता (पुस १४ देखि १८)मा ठूलो उतारचढाव सामना गर्‍यो। नेप्से परिसूचक ४४।८४ अंकले घट्दै साताको अन्त्यमा २५८६।२३ बिन्दुमा रोकिएको छ। यो गिरावट मुख्यतः नियामकीय कदम र लगानीकर्ताबीच फैलिएको अन्योलताका कारण देखिएको छ।

पुस १० गते राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन आफ्नो हातमा लिएपछि बजारमा नकारात्मक प्रभाव पर्‍यो। त्यसको भोलिपल्ट नेप्सेले उक्त बैंकलाई सूचीकरणबाट हटाएपछि शेयर बजारमा भय र अफवाह फैलियो। सामाजिक सञ्जालमा उच्च निष्क्रिय कर्जा भएका अन्य वित्तीय संस्थाहरूलाई पनि सूचीकरणबाट हटाउने हल्ला चलेपछि वित्तीय क्षेत्रको शेयरमा भारी बिक्री चाप देखियो।

फाइनान्स र विकास बैंक समूहमा भारी गिरावटले बजारलाई समग्र रूपमा कमजोर बनायो। आइतबार विकास बैंक समूह १४२।३५ अंकले घट्यो भने मङ्गलबार थप १४५।१० अंकले तल झर्‍यो। यसैगरी, फाइनान्स समूह आइतबार १३७।४६ अंकले र मङ्गलबार १५२।४४ अंकले घट्यो। यी दुई समूहको गिरावटले समग्र बजारलाई तान्यो।

साताभर कारोबार अपेक्षाकृत कमजोर रह्यो। चार दिनमा जम्मा १९ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भयो, जसमा दैनिक औसत ४।८३ अर्ब रुपैयाँ मात्र रह्यो। २ लाख ३० हजार ८७३ पटकको कारोबारमा ४३।७९ लाख कित्ता शेयर किनबेच भयो।

  • आइतबार: बजार २१।१२ अंकले घट्दै २६०९।५८ बिन्दुमा पुगेको थियो। कारोबार रकम ५।४७ अर्ब रुपैयाँ।

  • मङ्गलबार: बजार ३३।०८ अंकले घटेर २५४५।३४ बिन्दुमा पुग्यो। कारोबार रकम ५।६७ अर्ब रुपैयाँ।

  • बुधबार: नेप्से ५।१० अंकले बढ्दै २५८१।६० बिन्दुमा पुगे पनि कारोबार घट्दै ३।५९ अर्ब रुपैयाँमा सीमित भयो।

  • बिहीबार: बजार ०।१७ प्रतिशतले बढ्दै २५८६।२३ बिन्दुमा पुग्यो। कारोबार रकम ४।६० अर्ब रुपैयाँ।

यस साताको गिरावटले नेपालको शेयर बजारको संवेदनशीलता र लगानीकर्ताको आत्मविश्वासको कमीलाई उजागर गरेको छ। कर्णाली विकास बैंकलाई सूचीकरणबाट हटाएको नियामकीय कदमले बजारमा भय सिर्जना गरेको थियो। सामाजिक सञ्जालमा फैलिएका अफवाहले थप नकारात्मक असर पुर्‍याएको देखिन्छ।

पुस मसान्तसम्म आयकर बुझाउनुपर्ने दबाब र वर्षको अन्त्यमा हुने वित्तीय विवरणका कारण पनि बजारमा बिक्रीमुखी दबाब देखिएको हो।

Related News