नेपालका बैंकहरूको पूँजी आधार बलियो : कसले मारे बाजी?
Author
NepseTrading

नेपालका बैंकहरूकाे ताजा कोर क्यापिटल (Core Capital) तथ्यांक सार्वजनिक भएका छन्, जसले बैंकिङ क्षेत्रकाे वित्तीय हैसियत स्पष्ट देखाएको छ। कोर क्यापिटल अर्थात बैंककाे मौलिक पुँजी र जगेडा बैंककाे जोखिम झेल्ने क्षमता जनाउने महत्वपूर्ण सूचक हो। पछिल्लो तथ्यांकले सरकारी स्वामित्वका बैंक र निजी क्षेत्रका बैंकहरूबीच स्पष्ट भिन्नता देखाएको छ।
सरकारी स्वामित्वका तीन ठूला बैंकहरू — नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंक — ले संयुक्त रूपमा रु. ८२,९७७ मिलियन कोर क्यापिटल देखाएका छन्। व्यक्तिगत रूपमा हेर्दा कृषि विकास बैंकले रु. ३०,७८९ मिलियन, राष्ट्रिय वाणिज्य बैंकले रु. २७,३१५ मिलियन र नेपाल बैंक लिमिटेडले रु. २४,८७४ मिलियन कोर क्यापिटल कायम गरेका छन्। यी बैंकहरू इतिहास र पहुँचमा बलिया भए पनि पूँजी वृद्धि दरमा निजी बैंकहरूभन्दा पछि परेका छन्।
निजी क्षेत्रका बैंकहरूले भने जबरजस्त उचाइ लिएका छन्। ग्लोबल आइएमई बैंक लिमिटेड सबैभन्दा अगाडि देखिएको छ, जसको कोर क्यापिटल रु. ५२,३९६ मिलियन पुगेको छ। त्यसपछि नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड (रु. ४७,०४९ मिलियन) र नबिल बैंक लिमिटेड (रु. ४६,७४८ मिलियन) क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। ठूलो स्तरको मर्जर र आक्रामक विस्तारले यी बैंकहरूलाई अगाडि सारेका छन्। पछिल्लो मर्जरपछिको लक्ष्मी सनराइज बैंक लिमिटेड ले पनि रु. ३३,४८४ मिलियन को बलियो उपस्थिति देखाएको छ।
मध्यम तहका बैंकहरू पनि स्थिर गतिमा अगाडि बढिरहेका छन्। प्राइम कमर्सियल बैंक (रु. २७,०१० मिलियन), एनएमबी बैंक (रु. २६,८९१ मिलियन), कुमारी बैंक (रु. २६,५७० मिलियन) र एभरेष्ट बैंक (रु. २५,१२१ मिलियन) ले मजबुत उपस्थिति बनाएका छन्। यी बैंकहरू उच्च तहमा नभए पनि बजारमा आफ्नो विश्वसनीयता कायम राख्न सफल भएका छन्।
तर सबै बैंकहरूको अवस्था समान छैन। केही बैंकहरू पछाडि छन्, जस्तै माछापुच्छ्रे बैंक (रु. १५,५६६ मिलियन) र नेपाल एसबीआई बैंक (रु. १७,७०७ मिलियन) कमजोर कोर क्यापिटल भएका बैंकहरूमा पर्छन्। स्टान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड जस्तो अन्तर्राष्ट्रिय ब्रान्ड समेत मात्र रु. १९,३१५ मिलियन मा सीमित भएको छ। सानिमा बैंक (रु. १८,३८१ मिलियन) र सिटिजेन्स बैंक इन्टरनेशनल (रु. १९,३४२ मिलियन) पनि २० अर्बको तल छन्। यी बैंकहरू भविष्यमा थप दबाबमा पर्न सक्ने देखिन्छ।
यस तथ्यांकले बैंकिङ बजारमा ठूला परिवर्तनका संकेत दिएका छन्। पहिलो, मर्जर र एकीकरणका गतिविधिहरू बढ्ने निश्चित छ किनभने साना बैंकहरू बच्नका लागि एक आपसमा गाभिन बाध्य हुनेछन्। दोस्रो, ठूला कोर क्यापिटल भएका बैंकहरूले ठूलो कर्जा तथा लगानी बजारमा वर्चस्व जमाउनेछन्। तेस्रो, लगानीकर्ताहरू ठूला पूँजी भएका बैंकहरूतर्फ आकर्षित हुनेछन्, जसले सुरक्षित र राम्रो प्रतिफल दिने अपेक्षा गर्छन्। अन्त्यमा, नेपाल राष्ट्र बैंकले पूँजी पर्याप्तता मापदण्ड अझ कडा बनाउन सक्ने सम्भावना देखिन्छ, जसले बैंकहरूलाई थप पूँजी वृद्धिको दबाब दिनेछ।