नेप्से परिसूचकमा ‘ड्रागनफ्लाई डोजी’, २०० डे मुभिङ एभरेजमा बलियो टेस्ट — लगानीकर्तामा सम्भावित रिभर्सलको संकेत
Author
NEPSE TRADING

लगातार छ दिनसम्म उकालो लागेको नेप्से परिसूचक सोमबार र मंगलबार लगातार दुई दिन घटेको छ। सोमबार नेप्से २२.३५ अंकले घट्दा मंगलबार भने ०.१४ अंकको सामान्य गिरावटसहित २६८३.८६ विन्दुमा आइपुग्यो। बजारमा देखिएको यो करेक्सन छोटो अवधिमा मुनाफा सुरक्षित गर्न थालेका लगानीकर्ताको कदमको परिणामका रूपमा व्याख्या गरिएको छ।
दुई दिनको करेक्सनसँगै बजार कारोबार रकममा समेत उल्लेख्य गिरावट देखिएको छ। सोमबार ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार घटेर ६ अर्ब ५७ करोड रुपैयाँमा सीमित रह्यो। मंगलबार ५६ हजार २७६ पटकको कारोबारमार्फत ३०४ वटा स्टकका १ करोड ५० लाख कित्ता शेयर किनबेच भए।
कम्पनी मूल्य उतारचढाव हेर्दा बुटवल पावर कम्पनी ८.२१% ले वृद्धि हुँदै अग्रपंक्तिमा रह्यो भने पिपुल्स हाइड्रो र रिभर फल्स पावर कम्पनीले क्रमशः ६% र ४.५% को वृद्धिदर देखाए। रसुवागढी हाइड्रोपावर भने ५.०८% गिरावटसहित सबैभन्दा बढी घट्ने कम्पनी बन्यो।
कारोबार रकममा नेपाल रि इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रह्यो, जसको कारोबार ५१ करोड ६७ लाख रुपैयाँ पुगेको थियो। बुटवल पावर र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले पनि क्रमशः ४१ करोडभन्दा बढीको कारोबार गरे, जसले यी कम्पनीप्रति लगानीकर्ताको विश्वास बलियो भएको संकेत गर्दछ।
१३ उपसमूहमध्ये ७ उपसमूह उकालो लागे भने ६ उपसमूह ओरालो लागे। वित्त उपसमूह सबैभन्दा धेरै १.२५% ले वृद्धि हुँदै अगाडि रह्यो। उत्पादन, लघुवित्त, जलविद्युत, निर्जीवन बीमा, व्यापार र लगानी उपसमूहमा पनि सामान्य बृद्धि देखियो। होटल, बैंकिङ, जीवन बीमा, म्युचुअल फन्ड, अन्य उपसमूह भने ओरालो लागे।
प्राविधिक विश्लेषण
मंगलबार (असार २४) बजारले ‘ड्रागनफ्लाई डोजी’ क्यान्डल बनाएको छ, जुन अनिश्चितता र सम्भावित ट्रेन्ड रिभर्सलको संकेत हो। सोमबारको बियरिस क्यान्डलपछि मंगलबार बजारले २०० दिनको मूभिङ एभरेज (MA) लाई सफलतापूर्वक टेकेको छ। बजारले सो लेबलभन्दा माथि क्लोज गरेकाले यसलाई बलियो टेक्निकल सपोर्टको रूपमा मानिएको छ।
‘ड्रागनफ्लाई डोजी’ तब बनिन्छ जब बजार तलसम्म झरेपछि बायर्सको चापमा फेरि खुला मूल्य नजिकै क्लोज हुन्छ। यसले बजारमा बायर्सको सक्रियता पुष्टि गर्छ। त्यसैले, हाल बजारमा देखिएको करेक्सनलाई ट्रेन्ड रिभर्सलको आधार पनि मान्न सकिन्छ।
ब्रोकर विश्लेषण
मंगलबार ठूला १० ब्रोकरमध्ये ६ वटा ब्रोकरले बाई र ४ वटाले सेल बढी गरेका छन्। सबैभन्दा बढी कारोबार ५५ नम्बर ब्रोकरले गरेको छ, जसले १ अर्ब ६३ करोड बराबरको कारोबार गरेको हो।
५५ नम्बर ब्रोकरबाट NRIC कम्पनीका ३ लाख ३३ हजार कित्ता शेयर किनिएको र २ लाख २१ हजार कित्ता बेचेको देखिन्छ। यस्तो क्रियाकलापलाई लगानीकर्ताले म्याचिङ अथवा चलखेलको संज्ञा दिएका छन्।
बजारले २०० MA लाई सपोर्टको रूपमा उपयोग गर्दै ड्रागनफ्लाई डोजी बनाउनु सकारात्मक संकेत हो। हाल देखिएको करेक्सनलाई जोखिम हैन, सामान्य समायोजनको प्रक्रिया मान्नुपर्छ। यदि बजारले आगामी दिनमा यो सपोर्ट कायम राख्न सक्यो भने, दीर्घकालीन बृद्धिको आधार तयार हुनेछ।
लगानीकर्ताले डराउनु होइन, दीर्घकालीन रणनीति तय गर्दै अवसर खोज्न आवश्यक छ।