जेन–जी आन्दोलनको प्रभाव : नेप्से परिसूचक दुई महिनापछि २७०० विन्दुमुनि
Author
NEPSE TRADING

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार फेरि ओरालो लागेको छ । लगातार चार दिनदेखि घटिरहेको नेप्से परिसूचक यस दिन पनि झरेर दुई महिनापछि पुनः २७०० विन्दुमुनि पुगेको हो ।
सोमबार नेप्से परिसूचक ३५.९९ अंकले घटेर २६७२.२५ विन्दुमा बन्द भएको छ । यसअघि गत असार २४ गते नेप्से २७०० विन्दुभन्दा तल २६८३.८६ विन्दुमा झरेको थियो । त्यसपछि पहिलो पटक यस दिन परिसूचक २७०० विन्दु तल आएको हो ।
आन्दोलनको प्रभावले बजारमा थप दबाब
बजार ओरालो लाग्ने क्रममा आज भएको जेन–जी आन्दोलनले थप दबाब सिर्जना गरेको देखिन्छ । आन्दोलनमा केही हताहत भएको समाचारले लगानीकर्तामाझ अन्यौलता बढाएको छ । आगामी दिनमा आन्दोलनले कस्तो रुप लिन्छ भन्ने अनिश्चितताले लगानीकर्तालाई सतर्क बनाएको र बजारमा नकारात्मक असर पारेको विश्लेषकहरुको भनाइ छ ।
कारोबार रकममा वृद्धि
नेप्से परिसूचक घटेपनि यस दिन कारोबार रकम भने बढेको छ । आइतबार ४ अर्ब ४० करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ५ अर्ब २३ करोड ३७ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको हो । यस दिन ३२० कम्पनीका १ करोड १७ लाख १७ हजार कित्ता शेयर ५९ हजार ७०४ पटक किनबेच भएका छन् ।
प्रमुख स्टकको उतारचढाव
हिम स्टार उर्जा कम्पनीको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ३९ रुपैयाँ १० पैसा बढेर ४३० रुपैयाँ ५० पैसामा पुगेको हो ।
तर, बाराही हाइड्रोपावरको शेयरमूल्य भने सबैभन्दा धेरै ५.२८ प्रतिशतले घटेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर र गिरावटदर ५ प्रतिशतभन्दा कम रहेको छ ।
कारोबार रकममा शीर्ष स्थान
कारोबार रकमका आधारमा नेपाल पुनर्बीमा कम्पनी पहिलो स्थानमा पुगेको छ । यस दिन कम्पनीको ३० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, यूनियन हाइड्रोपावरको कारोबार २४ करोड रुपैयाँभन्दा बढी भएको छ भने यूनिभर्सल पावरको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ ।
सबै उपसमूहमा गिरावट
सोमबार १३ वटै उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार उपसमूह ३.३१ प्रतिशतले घट्दै सर्वाधिक प्रभावित भएको छ । बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत, लगानी, उत्पादन तथा प्रशोधन, लघुवित्त, निर्जीवन बीमा र अन्य उपसमूह पनि १ प्रतिशतभन्दा बढी घटेका छन् ।
यसरी, आन्दोलन र राजनीतिक अनिश्चितताको छायाँमा शेयर बजारमा निरन्तर गिरावट देखिँदा लगानीकर्ताको मनोबल थप कमजोर बनेको विश्लेषण गरिएको छ ।