एन आई सी एशिया क्यापिटलले निष्कासन गरेको नयाँ म्युचुअल फन्ड योजना 'एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फन्ड' को एकाइहरू बुधबार बाँडफाँट गरिएको छ। योजना व्यवस्थापक क्यापिटलले सर्वसाधारण र संस्थागत लगानीकर्ताका लागि खुला गरेको प्रति एकाइ १० रुपैयाँ अंकित दरको कुल ८ करोड एकाइको बाँडफाँट प्रक्रिया आश्विन २१ गते सम्पन्न गरेको हो।
यस सामूहिक लगानी कोष योजनाअन्तर्गत कुल निष्कासित एकाइमध्ये १५ प्रतिशत अर्थात् न्यूनतम १ करोड २० लाख एकाइ (१२ करोड रुपैयाँ बराबर) कोष प्रवर्द्धक एन आई सी एशिया बैंक लिमिटेडका लागि बीज पुँजी (सिड क्यापिटल) का रूपमा सुरक्षित राखिएको छ। बाँकी रहेको न्यूनतम ६ करोड ८० लाख एकाइ भने गत आश्विन ७ गतेदेखि १३ गतेसम्म सर्वसाधारण तथा विभिन्न संघ–संस्थाहरूका लागि खरिद गर्न बिक्री खुला गरिएको थियो। सोही अवधिभित्र रीतपूर्वक आवेदन दिने आवेदकहरूलाई बुधबार बीज पुँजीसहितको एकाइ बाँडफाँट गरिएको बिक्री प्रबन्धकले जनाएको छ।
आवेदन दिएका लगानीकर्ताहरूले बाँडफाँटको अन्तिम नतिजा सिडिएस एन्ड क्लियरिङ लिमिटेडको 'मेरोशेयर' (www.meroshare.cdsc.com.np), आईपीओ रिजल्ट हेर्ने आधिकारिक वेबसाइट (www.iporesult.cdsc.com.np) वा एन आई सी एशिया क्यापिटलको वेबसाइट (www.nicasiacapital.com) मार्फत सहजै हेर्न सक्नेछन्। साथै, बाँडफाँटमा नपरेका वा माग गरेबमोजिम सम्पूर्ण एकाइ प्राप्त गर्न नसकेका आवेदकहरूको बैंक खातामा रोक्का रहेको रकम तत्काल फुकुवा गरिदिन सम्पूर्ण सि–आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई क्यापिटलले निर्देशन समेत दिइसकेको छ।



