एनएमबि म्युचुअल फण्ड
अन्तर्गत संचालित एनएमबि फिफ्टी (NMB 50)
धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम
नेपाल धितोपत्र बोर्डबाट २०७६।०२।२९ मा योजना संचालन अनुमति प्राप्त
योजनाको निर्धारित समयावधि समाप्ती मिति २०८३/०५/१२
एनएमबि फिफ्टी योजनाको खारेजी गर्ने सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति २०८३/०५/११)
एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक रही यस एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालित एनएमबि फिफ्टी यही मिति २०८३/०५/१२ गते परिपक्व हुन लागेको जानकारी गराइन्छ । सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३१ को उपनियम १ (क) बमोजिम योजनाको अवधि समाप्त भएमा योजना खारेजीमा लैजानुपर्ने व्यवस्था रहेको र खारेजीमा लैजाने क्रममा सोही नियमको उपनियम ६ बमोजिम नेपाल धितोपत्र बोर्डलाई मिति २०८३/०४/११ गतेको पत्रबाट योजनाको खारेजी सम्बन्धमा जानकारी गराइसकेको तथा नियम ३१ को उपनियम ७ बमोजिम योजना खारेजी सूचना प्रकाशन गरेपछि योजनाको कारोबार गर्न गराउन नहुने व्यवस्था भएकाले नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा मिति २०८३/०५/१० गते बुधबारका दिन कारोबार गरी कायम हुने इकाईधनीहरुले मात्र योजनाको खारेजी पश्चात्को प्रतिफल प्राप्तिको लागि योग्य हुने व्यहोरा जानकारी गराउँदै सो मिति पश्चात् योजनाको इकाईहरु कारोबार नहुने व्यहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ ।
“एनएमबि फिफ्टी” खारेजी पश्चात् सोही नियमावलीको नियम ३२ को उपनियम ३ को व्यवस्था बमोजिम योजना अन्तर्गतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था रहेकोले प्रचलित कानून तथा नियामकिय प्रक्रिया पूरा गरी इकाईधनीहरुलाई फिर्ता भुक्तानी गरिनेछ । यस क्रममा आवश्यकता अनुसार सार्वजनिक रुपमा पछि सूचना प्रकाशित गरी इकाईधनीहरुलाई जानकारी गराइनेछ ।
साथै, विगतमा वितरण गरिएको नगद लाभांश लिन बाँकी इकाईधनीहरुले आफ्नो बैंक खाता अद्यावधिक गरी तथा इकाई धितो बन्धकी राखेको हकमा इकाई फुकुवा गरी सो को फुकुवा पत्र (Release Letter) यथाशीघ्र यस कार्यालयमा पेश गर्नुहुन अनुरोध गरिन्छ ।
नोट : यस योजना २०८३/०५/१२ मा परिपक्व हुने भएकाले सो मिति पश्चात् यस योजनाका इकाईधनीहरुले Meroshare मा आफ्नो WACC अद्यावधिक गर्नुहुन हार्दिक अनुरोध गर्दछौं ।
योजना व्यवस्थापक
एनएमबि क्यापिटल लिमिटेड
बालुवाटार-४, काठमाडौँ, नेपाल



