विशेष साधारण सभा सम्बन्धी सूचना
(प्रथम पटक प्रकाशित मिति: २०८३/०३/१२ गते शुक्रवार)
यस कम्पनीको सञ्चालक समितिको मिति २०८३/०३/११ गते बिहीबार बसेको १२ औं बैठकको निर्णयअनुसार ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने सम्बन्धमा कम्पनी ऐन, २०६३, धितोपत्रसम्बन्धी प्रचलित कानून तथा सम्बन्धित नियामक निकायहरुको नियमबमोजिम देहायको मिति, समय र स्थानमा विशेष साधारण सभा बस्ने भएकाले सम्पूर्ण शेयरधनी महानुभावहरुको जानकारी तथा उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।
विशेष साधारण सभा हुने मिति, समय र स्थान
मिति : २०८३ साल ०३ महिना २८ गते आइतवार (१२ जुलाई, २०२६)
समय : बिहान ९:०० बजे
स्थान : कम्पनी उद्योग परिसर, जुगेडी, भरतपुर महानगरपालिका वडा नं. २९, चितवन
छलफलका विषयहरु:
क) विशेष प्रस्तावहरु
१. ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन पारित गर्ने।
२. प्राप्ति प्रक्रियाका सम्बन्धमा हालसम्म भएका काम-कारबाही, निर्णय, पत्राचार, नियामक निकायसँग भएका प्रक्रिया तथा आवश्यक कार्यहरु अनुमोदन गर्ने।
३. Due Diligence Audit (DDA) प्रतिवेदन तथा सोसँग आबद्ध सम्पत्ति तथा दायित्व मूल्याङ्कन प्रतिवेदन र स्वतन्त्र मूल्याङ्कनकर्ताको सिफारिसका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात/शेयर आदान-प्रदान अनुपात स्वीकृत गर्ने।
- रोयल फर्मास्युटिकल्स प्रा.लि.लाई ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले प्राप्ति गर्नेसम्बन्धी अन्तिम समझदारीपत्र, प्राप्ति योजना, व्यावसायिक योजना तथा आवश्यक अन्य कागजातहरु स्वीकृत गर्ने।
- प्राप्तिपश्चात् रोयल फर्मास्युटिकल्स प्रा.लि.का शेयरधनीहरुलाई स्वीकृत शेयर स्वाप अनुपातबमोजिम ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको शेयर जारी तथा बाँडफाँट गर्ने प्रस्ताव पारित गर्ने।
- प्राप्ति प्रक्रियाका कारण कम्पनीको अधिकृत पुँजी, जारी पुँजी, चुक्ता पुँजी, शेयर संरचना, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भए सो संशोधन गर्ने प्रस्ताव पारित गर्ने।
- कम्पनी ऐन, २०६३, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड, सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग तथा अन्य सम्बन्धित नियामक निकायबाट प्राप्त हुने निर्देशन, स्वीकृति वा सुझावअनुसार आवश्यक संशोधन, परिमार्जन तथा कार्यान्वयन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
- प्राप्ति प्रक्रिया सम्पन्न गर्न आवश्यक सम्पूर्ण कागजातमा हस्ताक्षर गर्ने, नियामक निकायमा निवेदन दिने, स्वीकृति प्राप्त गर्ने, शेयर सूचीकरण, डिम्याट, अभिलेख संशोधन तथा अन्य आवश्यक कार्य गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।
ख) विविध
विशेष साधारण सभा सम्बन्धी अन्य थप जानकारी
- विशेष साधारण सभा प्रयोजनका लागि मिति २०८३/०३/२२ गते एक दिन कम्पनीको शेयर दाखिल खारेज बन्द रहने छ। सो मितिसम्म नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार भई प्रचलित कानूनबमोजिम यस कम्पनीको शेयर रजिष्ट्रारमा कायम शेयरधनीहरुले सभामा भाग लिन सक्ने छन्।
- सभामा भाग लिन आउने शेयरधनी महानुभावहरुले आफ्नो हितग्राही परिचय नम्बर वा शेयरधनी परिचयसँग सम्बन्धित परिचयपत्र साथमा ल्याउनुपर्ने छ।
- संस्थागत शेयरधनीको हकमा प्रतिनिधि पठाउनु परेमा आधिकारिक प्रतिनिधि नियुक्ति पत्रसहित प्रतिनिधि उपस्थित हुनुपर्ने छ।
- शेयरधनी स्वयं उपस्थित हुन नसक्ने अवस्थामा प्रचलित कानूनबमोजिम प्रतिनिधि/प्रोक्सी नियुक्त गर्न सकिने छ। प्रोक्सी फारम सभा सुरु हुनुभन्दा कम्तीमा ४८ घण्टा अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा दर्ता गराइसक्नु पर्नेछ।
- नाबालक शेयरधनीको हकमा संरक्षकले दर्ता किताबमा उल्लिखित संरक्षकले सभामा भाग लिन, छलफल गर्न तथा मतदान गर्न सक्ने छन्।
- सभामा छलफल हुने प्रस्तावसँग सम्बन्धित कागजातहरु कार्यालय समयमा कम्पनीको रजिष्टर्ड कार्यालयमा निरीक्षण गर्न सकिने छ।
- शेयरधनी महानुभावहरुलाई प्राप्ति प्रक्रिया सम्बन्धमा कुनै जिज्ञासा भएमा सभा हुनुभन्दा कम्तीमा ७ दिन अगावै कम्पनीको रजिष्टर्ड कार्यालयमा लिखित रुपमा पठाउन अनुरोध गरिन्छ।
- सभामा उपस्थित हुने शेयरधनीहरुका लागि सभा सुरु हुनु १ घण्टा अगाडिदेखि हस्ताक्षर पुस्तिका खुला गरिने छ।
- सभा सञ्चालन, मतदान तथा अन्य प्रक्रिया कम्पनी ऐन, २०६३, कम्पनीको प्रबन्धपत्र तथा नियमावली, धितोपत्रसम्बन्धी प्रचलित कानून तथा सम्बन्धित नियामक निकायको निर्देशनबमोजिम हुने छ।
- विशेष साधारण सभा सम्बन्धमा थप जानकारी आवश्यक भएमा कम्पनीको रजिष्टर्ड कार्यालय वा सम्पर्क नं. ०१-५२४४३१० मा कार्यालय समयमा सम्पर्क गर्न सकिने छ।
सञ्चालक समितिको आज्ञाले


