ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले फागुन २७ गतेदेखि सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ। कम्पनीको कुल जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ, जसको ३० प्रतिशत अर्थात् १८ लाख कित्ता सेयर निष्कासन गरिँदैछ। यसमध्ये १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५४ हजार कित्ता कर्मचारीलाई, र ९० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ।
सर्वसाधारणका लागि खुला गरिने सेयरको मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने म्याद चैत ३ गतेसम्म छ, तर सो अवधिमा बिक्री नभए चैत १२ गतेसम्म खुला रहनेछ।
आइपीओ निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। आवेदन नेपालभरका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयर अनलाइन प्रणालीमार्फत दिन सकिनेछ।
चितवनको भरतपुर-२९ मा रहेको ओम मेगाश्री फर्मास्युटिकल्स नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत हुने पहिलो औषधि कम्पनी हो। आयोजनाको कुल लागत १ अर्ब २६ करोड ६३ लाख रुपैयाँ रहेको छ भने हालसम्म ९७ करोड ५४ लाख रुपैयाँ खर्च भइसकेको छ। कम्पनीले ७.१५ वर्षमा लगानी फिर्ता हुने अनुमान गरेको छ।





