सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वार्षिक ६ प्रतिशत ब्याजदर दिने गरी ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (डिबेन्चर) निष्कासन गर्ने भएको छ। बैंकले ‘६% आरबीबीएल डिबेन्चर २०८९’ (6% RBBL Debenture 2089) नामको ऋणपत्र आगामी असोज २९ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो।
बैंकले जारी गर्न लागेको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता (१ अर्ब ८० करोड रुपैयाँ) व्यक्तिगत तवर (प्राइभेट प्लेसमेन्ट) मार्फत बिक्री गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १२ लाख कित्ता (१ अर्ब २० करोड रुपैयाँ) सर्वसाधारणका लागि छुट्ट्याइएको छ, जसमध्ये ५ प्रतिशत (६० हजार कित्ता) सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँ तोकिएको छ।
कुल ७ वर्ष अवधिको यस डिबेन्चरमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ६ प्रतिशतका दरले अर्धवार्षिक रूपमा ब्याज भुक्तानी पाउनेछन्। इच्छुक लगानीकर्ताले असोज २९ गतेदेखि छिटोमा कात्तिक १० गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिमा मागबमोजिम आवेदन नपरेको खण्डमा निष्कासन अवधि कात्तिक १३ गतेसम्म विस्तार हुनेछ।
लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी-आस्वा (C-ASBA) सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयका साथै 'मेरो सेयर' (Mero Share) सफ्टवेयरमार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ। बजारमा अन्य जोखिमपूर्ण क्षेत्रको तुलनामा निश्चित र सुरक्षित प्रतिफल खोज्ने लगानीकर्ताका लागि यो डिबेन्चर आकर्षक विकल्प बन्ने देखिन्छ।





