नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम उल्लंघन गर्ने पाँच वाणिज्य बैंकहरूमाथि कारबाही गरेको छ। कारबाहीमा परेका बैंकहरूमा राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र स्टान्डर्ड चार्टर्ड बैंक रहेका छन्।
चार्टर्ड बैंकले तोकिएको क्षेत्रमा न्यूनतम कर्जा प्रवाह नगरेको भन्दै १४ करोड ८५ लाख रुपैयाँ जरिवाना तिराइएको छ। लक्ष्मी सनराइज बैंकलाई कर्जा जोखिम व्यवस्थापनमा गम्भीर त्रुटी देखिएको र संस्थापक सेयर धितो राखी बिना स्वीकृति ऋण लिएको पाइएपछि प्रमुख कार्यकारी अधिकृतलाई नसिहत दिइएको हो।
कुमारी बैंक र वाणिज्य बैंकलाई कर्जा वर्गीकरण तथा जोखिम व्यवस्थापनमा लापरवाही गरेको भन्दै सचेत गराइएको छ। नेपाल बैंकलाई रणनीतिक योजना कार्यान्वयनमा कमजोरी देखिएको कारण सचेत गराइएको छ भने तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीलाई पद दुरुपयोग गरेको आरोपमा ५ लाख जरिवाना गरिएको छ।











