सानिमा क्यापिटल लिमिटेडले व्यवस्थापन गरेका दुई म्युचुअल फण्डहरू— 'सानिमा इक्वीटी फण्ड-२' र 'सानिमा ग्रोथ फण्ड' को आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण भएको संक्षिप्त वित्तीय विवरण सार्वजनिक भएको छ। सार्वजनिक विवरण अनुसार शेयर बजारमा देखिएको अस्थिरताको सोझो असर सञ्चालनमा रहेको पुरानो योजनामा परेको छ भने भर्खरै मात्र बाँडफाँड भएको नयाँ योजना लगानीको उपयुक्त अवसर पर्खिदै अधिकांश रकम बैंकमा थुपारेर बसेको देखिएको छ।
अघिल्लो आर्थिक वर्षमा आकर्षक नाफा कमाएको 'सानिमा ग्रोथ फण्ड' समीक्षा वर्षमा भने घाटामा गएको छ। विवरण अनुसार आ.व. २०८२/८३ को असार मसान्तसम्ममा फण्डले १८ लाख २९ हजार ३१७ रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। जबकि, अघिल्लो वर्ष सोही अवधिमा फण्डले १२ करोड ७ लाख ३३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। फण्डको आम्दानी यसरी अप्रत्याशित रुपमा खुम्चिनुमा मुख्यतया शेयर बजारको गिरावट जिम्मेवार देखिन्छ। लगानीको फेयर भ्यालुमा मूल्याङ्कन गर्दा फण्डले ७ करोड ३९ लाख ५८ हजार रुपैयाँ बराबरको प्राप्त भइनसकेको (अनरियलाइज्ड) नोक्सानी व्यहोरेको छ, जसले समग्र नाफालाई ऋणात्मक बनाएको हो।
नाफा घटेसँगै फण्डको कुल सम्पत्तिमा पनि संकुचन आएको छ। अघिल्लो वर्ष ८६ करोड ३ लाख रुपैयाँ रहेको कुल सम्पत्ति घटेर ७१ करोड २६ लाख रुपैयाँमा झरेको छ। यद्यपि, फण्डले अघिल्लो वर्षको सञ्चित नाफाबाट इकाईधनीहरूलाई १० करोड ६१ लाख रुपैयाँ भन्दा बढी लाभांश वितरण गरेको वित्तीय विवरणको नगद प्रवाह खण्डमा उल्लेख छ। ठूलो रकम लाभांश बापत वितरण गरिएको र शेयर बजारको गिरावटका कारण पोर्टफोलियोको मूल्य घटेकाले फण्डको जगेडा कोष अघिल्लो वर्षको १४ करोड ४२ लाखबाट खुम्चिएर यस वर्ष ३ करोड६२ लाख रुपैयाँमा सीमित हुन पुगेको छ। ६७ करोड २५ लाख रुपैयाँ इकाई पूँजी रहेको यस फण्डको समयावधि २०९० साल मंसिर १० गतेसम्म रहेको छ।
अर्कोतर्फ, सानिमा क्यापिटलकै नयाँ बन्दमुखी योजना 'सानिमा इक्वीटी फण्ड-२' भने भर्खरै मात्र बजारमा आएर वित्तीय यात्रा सुरु गरेको छ। २०८३ असार ४ गते मात्र योजना बाँडफाँड भएको यस फण्डले आर्थिक वर्षको अन्त्यसम्ममा आफ्नो जम्मा भएको अधिकांश पूँजी बैंक खातामै राखेको छ। १ अर्ब २५ करोड रुपैयाँ इकाई पूँजी रहेको यस फण्डको बैंक मौज्दात मात्रै १ अर्ब ८ करोड ४४ लाख रुपैयाँ रहेको छ। योजना सञ्चालनको एकदमै छोटो अवधि (करिब एक महिनाभन्दा कम) मात्र पार गरेकाले फण्ड व्यवस्थापकले धितोपत्रमा जम्मा १६ करोड १९ लाख रुपैयाँ मात्र लगानी गर्न भ्याएको विवरणले देखाउँछ।
भर्खरै मात्र सञ्चालनमा आएको, धितोपत्रमा लगानी भइनसकेको र प्रारम्भिक तथा सञ्चालन खर्चहरू तत्कालै व्यहोर्नुपर्ने भएकाले 'सानिमा इक्वीटी फण्ड-२' ले समीक्षा अवधिमा ५९ लाख ३१ हजार रुपैयाँ खुद नोक्सानी देखाएको छ। कुल १३ लाख २६ हजार रुपैयाँ खर्च भएकोमा योजना व्यवस्थापन शुल्क बापत १० लाख ८२ हजार र पूर्व सञ्चालन खर्च बापत २६ लाख ७९ हजार रुपैयाँ खर्च भएको वित्तीय विवरणमा उल्लेख छ। नयाँ फण्डसँग प्रशस्त तरलता (नगद) रहेकाले आगामी दिनमा शेयर बजार घटेको अवस्थामा सस्तो मूल्यमा राम्रा कम्पनीका शेयर खरिद गरेर दीर्घकालीन नाफा कमाउने अवसर भने यो फण्डलाई प्राप्त हुने देखिन्छ। यो योजना २०९३ साल असार ४ गते समाप्त हुनेछ।





