बिआरआईमा एमाले र कांग्रेसको एकमुख: "परियोजना समयमै कार्यान्वयन गरौँ"
Author
NEPSE trading
बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) परियोजनाको विषयमा एमाले र कांग्रेसका नेताहरुले एकमत व्यक्त गर्दै परियोजनाहरूलाई समयमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरुले बिआरआईले नेपाल–चीनको आर्थिक विकास र कूटनीतिक सम्बन्धलाई थप मजबुत बनाउने धारणा राखेका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसन फर डेमोक्रेसी, पिस एन्ड डेभलपमेन्ट, मदन भण्डारी फाउन्डेसन, र नेपाल–चाइना फ्रेन्डसिप फोरमद्वारा आयोजित "प्रधानमन्त्रीको चीन भ्रमणपछि नेपाल–चीन सहकार्यको प्रवर्द्धन" विषयक अन्तक्र्रियामा नेताहरुले बिआरआई परियोजनाको महत्त्वबारे छलफल गरेका थिए।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनकी अध्यक्ष सुजाता कोइरालाले बिआरआई सम्झौता नेपाल र चीनको बृहत्तर हितमा रहेको बताउँदै यसले पूर्वाधार, शिक्षा, सञ्चार, र पर्यटनजस्ता क्षेत्रमा ठूलो सहयोग पुग्ने बताइन्। उनले सम्झौताको समयमै कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याइन्।
नेकपा (एमाले)का केन्द्रीय सदस्य विष्णु रिजालले बिआरआई सम्झौतामा राष्ट्रिय सहमति रहेको उल्लेख गर्दै यसले नेपाललाई कूटनीतिक सम्बन्ध र आर्थिक विकासमा फाइदा पुर्याउने धारणा राखे।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूतावासका डेपुटी चिफ अफ मिसन वाङ छिनले बिआरआईलाई अनावश्यक प्रचारको विषय बनाउनु नहुने बताए। उनले नेपालले अन्य देशहरूसँग जस्तै चीनसँगको सहकार्यलाई पनि समान रूपमा लिनुपर्ने उल्लेख गरे।
सिचुवान विश्वविद्यालयका भाइस डिन हुयान युन्सङले बिआरआईले क्षेत्रीय साझेदारी र गैरनाफामूलक लगानीमा आधारित रहँदै जनताको जीवनस्तर सुधार गर्न सहयोग गर्ने बताए। नेपाल–चाइना फ्रेन्डसिप फोरमका अध्यक्ष डा. कल्याणराज शर्माले प्रधानमन्त्रीको चीन भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ भएको बताउँदै नेपालले पर्यटन र पूर्वाधारमा चीनसँगको सहकार्यलाई उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए।
प्रधानमन्त्री केपी शर्मा ओलीको गत डिसेम्बर २ देखि ५ सम्मको चीन भ्रमणका क्रममा बिआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर भएको थियो। नेपालले सन् २०१४ मा बिआरआईमा सैद्धान्तिक सहमति जनाएको र सन् २०१७ मा समझदारीपत्रमा हस्ताक्षर गरेको थियो।
विज्ञहरुले बिआरआई परियोजना कार्यान्वयनले नेपालको आर्थिक र सामाजिक क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन्।