सुन र चाँदीको मूल्यले नयाँ रेकर्ड कायम, बजारमा ऐतिहासिक उचाइ
Author
NEPSE TRADING

भदौ ३१ गते, मंगलबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य ऐतिहासिक उच्चतामा पुगेका छन्। नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार, यस दिन सुनको मूल्य प्रतितोला १,९०० रुपैयाँले बढेर दुई लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको छ। यसअघि सोमबार प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा कारोबार भएको सुन मंगलबार नयाँ रेकर्ड बनाउँदै उचाईमा पुगेको हो। गत आइतबार कायम गरिएको दुई लाख १५ हजार ८०० रुपैयाँको रेकर्डलाई समेत तोड्दै यसपटक सुनले नयाँ उच्च विन्दु छुन सफल भएको छ।
यस्तै, चाँदीको मूल्य पनि लगातार ऐतिहासिक उचाइमा पुगेको छ। मंगलबार चाँदी प्रतितोला २० रुपैयाँले बढेर दुई हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको छ, जुन सोमबारको दुई हजार ५७५ रुपैयाँको तुलनामा उच्च हो। यससँगै सुन र चाँदी दुवैको मूल्यले नयाँ रेकर्ड कायम गरेका छन्।