१९औँ लोकतन्त्र दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदै
Author
NEPSE trading

आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक आन्दोलनमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली अर्पणसहित विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
विसं २०५९ जेठ ८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले विघटित गरेको संसदको पुनःस्थापना र निरङ्कुश शासनको अन्त्य भएको विसं २०६३ वैशाख ११ को ऐतिहासिक दिनको स्मरणमा प्रत्येक वर्ष लोकतन्त्र दिवस मनाइन्छ। सो दिन पूर्वराजा शाहले घोषणा गर्दै भनेका थिए, “राज्य शक्तिको स्रोत नेपाली जनता नै हुन् र नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित छ। जनआन्दोलनमार्फत अभिव्यक्त जनभावनाअनुसार प्रतिनिधिसभालाई पुनःस्थापित गरिएको छ।”
निरङ्कुशताविरुद्ध सात राजनीतिक दल र तत्कालीन विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को संयुक्त जनआन्दोलनको बलमा सो घोषणामार्फत विसं २०६३ वैशाख १५ गते प्रतिनिधिसभाको बैठक आह्वान गरिएको थियो।
जनआन्दोलनको उपलब्धिका रूपमा स्थापित लोकतन्त्रपछि दुईवटा संविधानसभा निर्वाचनमार्फत गठित संविधानसभाले विसं २०७२ असोज ३ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको थियो। उक्त संविधानले नेपाललाई सङ्घीय संरचनामा प्रवेश गरायो। सोहीअनुसार सङ्घ, प्रदेश र स्थानीय तहको दुईपटक निर्वाचन सम्पन्न भई मुलुक हाल सङ्घीयताको अभ्यासमा छ।
विसं २०६२/६३ को जनआन्दोलनले तत्कालीन राजाको प्रत्यक्ष र निरङ्कुश शासनको अन्त्य गरेको सम्झनामा विसं २०६५ देखि प्रत्येक वैशाख ११ गते लोकतन्त्र दिवस मनाउन थालिएको हो।