काठमाडौं उपत्यकामा वायु प्रदूषण उच्च स्तरमा, स्वास्थ्य जोखिम बढ्दै
Author
NEPSE TRADING

पछिल्लो समय काठमाडौं उपत्यकामा वायु प्रदूषणको स्तर अत्यधिक बढेको छ। प्रदूषणका कारण उपत्यकाको आकाश धमिलो देखिएको छ भने घाम राम्रोसँग लाग्न सकेको छैन। बिहानैदेखि काठमाडौंको मौसम धुम्म देखिएको छ र दृश्य क्षमता समेत घटेको छ, जसका कारण यातायात सञ्चालन तथा हवाई उडानमा समेत सामान्य प्रभाव परेको छ। हावामा धुलोका कण र धुवाँको मात्रा बढेकाले सर्वसाधारणले आँखा पोल्ने र श्वासप्रश्वासमा असहज महसुस गरिरहेका छन्। वातावरण विभागका अनुसार उपत्यकाको वायु गुणस्तर सूचकांक जोखिमपूर्ण स्तरमा पुगेको छ। लामो समयदेखि हिउँदे वर्षा नभएको र देशका विभिन्न भागमा लागेको डढेलोको धुवाँ हावासँगै उपत्यकामा प्रवेश गरेकाले प्रदूषण ह्वात्तै बढेको मौसमविद्हरूले बताएका छन्। विशेषगरी बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वाससम्बन्धी दीर्घरोगीहरूलाई घरबाहिर ननिस्कन र निस्कनै परे गुणस्तरीय मास्क प्रयोग गर्न स्वास्थ्य विज्ञहरूले सुझाव दिएका छन्। तत्काल ठूलो वर्षा वा तिब्र हावा चल्ने सम्भावना कम रहेकाले आगामी केही दिनसम्म प्रदूषणको अवस्था यथावत् रहन सक्ने अनुमान गरिएको छ।



