काठमाडौँ — नेपालको सेयर बजारलाई थप पारदर्शी, मर्यादित र लगानीकर्तामैत्री बनाउने उद्देश्यले सेयर बजार विश्लेषक तथा लगानीकर्ता तिलक कोइरालाले सरकार र नियमनकारी निकायहरूलाई ३० बुँदे सुझाव पेस गरेका छन्। पूँजी बजारको विद्यमान समस्या समाधान गर्दै यसको दिगो विकास र विस्तारका लागि तत्काल गर्नुपर्ने भन्दै उनले यी सुझाव सार्वजनिक गरेका हुन्।
कोइरालाको सुझावमा कर नीतिको पुनरावलोकन, नेप्सेको पुनर्संरचना, प्रविधिको आधुनिकीकरण र नीतिगत स्पष्टतालाई मुख्य जोड दिइएको छ। बजेटमार्फत बढाइएको पूँजीगत लाभकरलाई वैज्ञानिक ढाँचामा पुनर्व्यवस्थित गर्नुपर्ने उनको माग छ। सेयर धारण अवधिका आधारमा दर फरक पार्दै लामो समय धारण गर्नेलाई कम र छोटो अवधिमा किनबेच गर्नेलाई बढी कर लगाउनुपर्ने सुझाव उनले दिएका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) को पुनर्संरचनासम्बन्धी समितिको सिफारिसअनुसार विदेशी रणनीतिक साझेदारलाई कम्तीमा ३० प्रतिशत र स्वदेशी सूचीकृत संस्थाहरूलाई १५ प्रतिशत हिस्सा दिने गरी अर्थ मन्त्रालयले तत्काल मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुपर्ने उनको भनाइ छ।
धितोपत्रसम्बन्धी विभिन्न ऐन तथा नियमावली संशोधन गरी एकआपसमा अन्तरसम्बन्धित बनाउनुपर्ने र आईपीओ बुक बिल्डिङ प्रक्रियामार्फत ल्याउँदा संस्थागत तथा सर्वसाधारणलाई निश्चित हिस्सा छुट्याउनुपर्ने कोइरालाको सुझाव छ। लगानीकर्ताका गुनासो तीन दिनभित्र सुनुवाइ हुने र ३० दिनभित्र सम्पूर्ण उजुरी फर्छ्यौट गरी ‘शून्य बाँकी उजुरी नीति’ लागू गर्नुपर्ने पनि उनले औंल्याएका छन्।
प्रविधिको आधुनिकीकरणतर्फ स्वचालित सर्भिलेन्स प्रणाली, स्वचालित ईडीआईएस, बहु–ब्रोकर म्यापिङ प्रणाली र एसएमई तथा स्टार्टअप प्लेटफर्म तत्काल सञ्चालनमा ल्याउनुपर्ने उनको सुझावमा उल्लेख छ। साथै मार्जिन कारोबार, डिलर लाइसेन्स खुला गर्ने र सेयर दलालहरूलाई फुल ब्रोकर तथा कमिसन ब्रोकरमा वर्गीकरण गर्ने विषय पनि समेटिएको छ।
बजारको स्वच्छता कायम राख्न परामर्श सेवाका लागि लाइसेन्सको व्यवस्था गर्ने र सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने तथा मूल्य म्यानिपुलेसन गर्नेविरुद्ध तत्काल कारबाही थाल्नुपर्ने कोइरालाको जोड छ। यस्तै, पूँजी बजारलाई प्रभावित पार्ने गरी कुनै नेता, सांसद वा मन्त्रीले सार्वजनिक अभिव्यक्ति दिन नपाउने व्यवस्था हुनुपर्ने उनको सुझाव छ।
धितोपत्र कसुरसम्बन्धी मुद्दा हेर्न बेग्लै विशेष अदालत गठन गर्ने र बण्ड मार्केट तथा म्युचुअल फन्डलाई प्रवर्द्धन गर्ने विषय पनि सुझावमा परेका छन्। अन्त्यमा, धितोपत्र बजार सुधार र विकासका लागि अर्थ मन्त्रालयले सर्वपक्षीय कार्यदल (टास्क फोर्स) गठन गरी तत्काल गर्नुपर्ने कामहरू अघि बढाउनुपर्ने कोइरालाको माग छ।





