काठमाडौं – सञ्चालन खर्चमा आएको गिरावट र खुद ब्याज आम्दानीमा भएको वृद्धिले मितेरी डेभलपमेन्ट बैंक लिमिटेड (MDB) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा बैंकको खुद नाफा अघिल्लो वर्षको तुलनामा १२०.२५ प्रतिशतले बढेको हो।
बैंकले चालु आर्थिक वर्षको पहिलो छ महिनामा ५ करोड ७० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २ करोड ५८ लाख रुपैयाँमा सीमित थियो।
ब्याज आम्दानी र व्यवसाय विस्तार बैंकको नाफा बढ्नुमा 'खुद ब्याज आम्दानी' को मुख्य भूमिका रहेको छ। समीक्षा अवधिमा यस्तो आम्दानी ६८.४३ प्रतिशतले बढेर १४ करोड ४६ लाख रुपैयाँ पुगेको छ। व्यवसाय विस्तारका क्रममा बैंकले पुस मसान्तसम्म ८ अर्ब ३८ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ५६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो निक्षेपमा २८.९४ प्रतिशत र कर्जामा २६.७४ प्रतिशतको वृद्धि हो।
खराब कर्जामा सुधार बैंकले सम्पत्तिको गुणस्तरमा पनि उल्लेख्य सुधार गरेको छ। अघिल्लो वर्ष १.७४ प्रतिशत रहेको खराब कर्जा (NPL) अहिले घटेर जम्मा ०.४५ प्रतिशतमा झरेको छ। यद्यपि, सम्भावित जोखिम व्यवस्थापनका लागि छुट्याइने 'इम्पेरमेन्ट चार्ज' भने २ करोड २९ लाख रुपैयाँ पुगेको छ।
मुख्य वित्तीय सूचकहरू
प्रतिशेयर आम्दानी (EPS): नाफामा भएको वृद्धिसँगै वार्षिक प्रतिशेयर आम्दानी ५ रुपैयाँ १२ पैसाले बढेर ९ रुपैयाँ ३७ पैसा पुगेको छ।
कोषको लागत (Cost of Funds): बैंकले निक्षेपको लागत ६.१२ प्रतिशतबाट घटाएर ४.७४ प्रतिशतमा झार्न सफल भएको छ।
पूँजी कोष अनुपात: बैंकको पूँजी कोष अनुपात १६.८१ प्रतिशत रहेको छ।
नेटवर्थ र पीई रेसियो: प्रतिशेयर नेटवर्थ १०८ रुपैयाँ ६२ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.१० गुणा कायम भएको छ।
बैंकको सञ्चालन मुनाफा पनि अघिल्लो वर्षको ३ करोड ६९ लाखबाट बढेर ८ करोड १४ करोड रुपैयाँ पुगेको छ। पछिल्लो समय बैंकले सस्तो ब्याजदरमा निक्षेप परिचालन गर्न सकेका कारण नाफामा सकारात्मक प्रभाव परेको देखिन्छ।





