·

एशियन लाइफ इन्स्योरेन्सले ३.५ लाखभन्दा बढी अवितरित शेयर बिक्रीमा ल्यायो

Author

NEPSE TRADING

एशियन लाइफ इन्स्योरेन्सले ३.५ लाखभन्दा बढी अवितरित शेयर बिक्रीमा ल्यायो

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आज (भदौ २२ गते) देखि साढे ३ लाखभन्दा बढी अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री खुलाएको छ। कम्पनीले यसअघि असार २५ गतेदेखि साउन २० गतेसम्म १ः०.४२ अनुपातमा कुल १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो।

सो अवधिमा २७ हजार ६२२ जना शेयरधनीलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता शेयर बाँडफाँट भइसकेको छ। बाँडफाँटमा नपरेका ३ लाख ५८ हजार ५१२.४८ कित्ता शेयर अब लिलामी प्रक्रियामार्फत बिक्रीमा आउन लागेका हुन्। जसमा ३० हजार ३८.५७ कित्ता संस्थापक तथा ३ लाख २८ हजार ४७३.९१ कित्ता सर्वसाधारण समूहका छन्।

शेयर खरिद गर्न इच्छुक व्यक्ति, कम्पनी वा संघसंस्थाले भदौ २९ गतेसम्म प्रतिकित्ता कति मूल्यमा लिने भन्ने विवरणसहित गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ। संस्थापक समूहतर्फ न्यूनतम १ हजार कित्ता र सर्वसाधारण समूहतर्फ न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ भने अधिकतम शेयर संख्यामा भने कुनै सीमा तोकिएको छैन।

यसका लागि बोलपत्र फाराम बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड, नारायणचौर, नक्साल, काठमाडौंका साथै मुक्तिनाथ विकास बैंकका विभिन्न शाखा— ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, वीरगन्ज, जनकपुर, हेटौंडा, नारायणगढ, पोखरा, बागलुङ, घोराही, नेपालगन्ज, वीरेन्द्रनगर, धनगढी र महेन्द्रनगरबाट प्राप्त गर्न सकिनेछ। आवेदन बुझाउने सुविधा पनि यिनै शाखा कार्यालयमार्फत उपलब्ध हुनेछ।

Related News