एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले पुस मसान्तसम्ममा २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ५.३० प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २५ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा खुद आर्जित बीमाशुल्क ११.४० प्रतिशतले बढेको छ भने खुद दाबी भुक्तानी ७.७२ प्रतिशतले वृद्धि भएको छ। साथै, कुल आम्दानी ७.३४ प्रतिशतले बढेको छ भने कुल खर्च ८.४० प्रतिशतले वृद्धि भएको छ।
नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी (EPS) भने ४ रुपैयाँ १८ पैसाले घटेर १० रुपैयाँ ५४ पैसामा झरेको छ। चुक्ता पूँजीको अनुपातमा नाफा वृद्धि हुन नसक्दा EPS घटेको हो। पुस मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात (P/E Ratio) ४४.९४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ७३ पैसा रहेको छ। हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब ११ लाख रुपैयाँ रहेको छ। साथै, शेयर प्रिमियम १० करोड ९९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३१ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९१ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ९ करोड ४० लाख रुपैयाँ रहेको छ।





