
बैंकमा निक्षेप थुप्रियो, लगानीको ठाउँ साँघुरियोBanks awash with deposits, but lending avenues shrink
तरलता अभावका बेला निक्षेप तान्न बैंक तथा वित्तीय संस्थाबीच ब्याजदर बढाउने होड चल्थ्यो। त्यो दृश्य अहिले पूरै उल्टिएको छ। बैंकिङ क्षेत्रको मूल टाउको दुखाइ अहिले पैसाको अभाव होइन, थुप्रिएको पैसा खन्याउने ठाउँको अभाव बनेको छ। निक्षेप निरन्तर बढिरहे पनि सोही गतिमा कर्जा प्रवाह हुन नसक्दा बैंकहरूसँग लगानीयोग्य रकम चाङ लागेर बसेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार प्रणालीगत निक्षेप ८० खर्ब ५० अर्ब रुपैयाँ नाघेको छ। यसको तुलनामा बैंकहरूले प्रवाह गरेको कर्जा भने ५९ खर्ब १३ अर्बमै सीमित छ। निक्षेपको तुलनामा कर्जाको अनुपात अर्थात् सीडी रेसियो ७२.७८ प्रतिशत मात्र छ, जबकि बैंकहरूले ९० प्रतिशतसम्म कर्जा दिन पाउँछन्। यही हिसाबले हाल बैंकिङ प्रणालीमा १३ खर्ब रुपैयाँभन्दा बढी रकम लगानीको प्रतीक्षामा छ।
निक्षेप बढाउने मुख्य इन्जिन रेमिट्यान्स
निक्षेप वृद्धिको मुख्य आधार विप्रेषण बनेको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामै विप्रेषण आप्रवाह ४१ प्रतिशतले उक्लिएर १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ। वैशाख एक महिनामै देशभित्र २ खर्ब ५७ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो। विदेशबाट आउने यो रकमको ठूलो हिस्सा सिधै बैंकमा जम्मा हुने भएकाले निक्षेपको आकार झन् फुलिँदै गएको हो। सेयर र घरजग्गाजस्ता लगानीका मैदान चिसिएपछि घरायसी बचत पनि बैंकतर्फै तेर्सिएको बैंकरहरूको बुझाइ छ।
ब्याज घट्यो, कर्जा बढेन
तरलता बढेसँगै बैंकहरूले निक्षेप र कर्जा दुवैको ब्याजदर घटाउँदै लगेका छन्। वाणिज्य बैंकहरूको औसत निक्षेप ब्याज ३.३५ प्रतिशतमा र आधारदरमा आधारित कर्जा ब्याज ६.७३ प्रतिशतमा झरेको छ। सामान्यतः ब्याज सस्तियो भने कर्जाको माग चढ्नुपर्ने हो, तर यसपटक त्यो नियमले काम गरेको देखिँदैन। १० महिनामा निजी क्षेत्रतर्फको कर्जा अघिल्लो वर्षको ७.३ प्रतिशतको तुलनामा घटेर ५.७ प्रतिशत अर्थात् करिब ३ खर्ब १२ अर्बले मात्र विस्तार भएको छ। यसले प्रणालीमा स्रोतको होइन, मागको खडेरी रहेको प्रस्ट्याउँछ।
राष्ट्र बैंकमै थन्कियो रकम
लगानीको बाटो नभेटिएपछि बैंकहरूले अतिरिक्त रकम राष्ट्र बैंककै ढुकुटीमा फर्काउन थालेका छन्। हाल वित्तीय प्रणालीको करिब ९ खर्ब ९९ अर्ब रुपैयाँ राष्ट्र बैंकमा थन्किएको छ, जसमा बैंकहरूले २.६८ देखि ३ प्रतिशतसम्म ब्याज पाइरहेका छन्। तर यो बैंकको मूल व्यवसाय होइन। "निक्षेप नपुगेर होइन, धेरै भएर समस्या परेको हो; निक्षेपकर्तालाई ब्याज त तिर्नैपर्ने तर लगानी गर्ने ठाउँ छैन," एक वाणिज्य बैंकका प्रमुख कार्यकारी बताउँछन्। निक्षेपकर्तालाई नियमित ब्याज तिरिरहनुपर्ने तर त्यो रकम परिचालन हुन नसक्दा बैंकहरूको नाफामा दबाब थपिएको छ।
माग किन सुस्त ?
बाह्य क्षेत्र बलियो भए पनि भित्री आर्थिक गतिविधि अझै तातेको छैन। उद्योगी–व्यवसायी नयाँ लगानीमा सतर्क छन्, निर्माण क्षेत्रले लय समातेको छैन, सरकारी विकास खर्च कमजोर छ र घरजग्गा कारोबार पूर्ण रूपमा पुनर्जीवित भइसकेको छैन। क्षेत्रगत रूपमा निर्माणमा १२.८, उपभोग्यमा १२.३ र यातायात–सञ्चारमा १०.९ प्रतिशतले कर्जा बढे पनि कृषितर्फको कर्जा भने २.३ प्रतिशतले खुम्चिएको छ। आयातसँग जोडिएको ट्रस्ट रिसिप्ट कर्जा भने ३६ प्रतिशतले हाम फालेको छ, जसले लगानी उत्पादनभन्दा उपभोग र आयाततर्फ ढल्किएको संकेत गर्छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समेत प्रणालीमा स्रोत प्रशस्त भए पनि उत्पादनशील क्षेत्रमा परिचालन गर्न नसकिएको स्विकारिसकेका छन्। अहिलेको असली चुनौती तरलता व्यवस्थापन नभई लगानीका अवसर सिर्जना गर्नु रहेको विज्ञहरू बताउँछन्। पूर्वाधार बन्ड, परियोजना–आधारित डिबेन्चर र नगरपालिका बन्डजस्ता दीर्घकालीन उपकरणमार्फत थुप्रिएको स्रोतलाई उत्पादनमा खन्याउन सकिने उनीहरूको सुझाव छ। कर्जाको माग उल्लेख्य नबढुन्जेल र अर्थतन्त्रले गति नलिउन्जेल बैंकमा पैसा थुप्रिने क्रम तत्काल रोकिने सम्भावना भने कम छ।
Not long ago, banks and financial institutions were locked in a race to woo depositors with ever-higher interest rates to ease a liquidity crunch. That picture has now flipped entirely. The banking sector's main headache today is not a shortage of money but a shortage of places to put it. Deposits keep piling up, yet lending has failed to keep pace, leaving banks sitting on a mountain of investable funds.
According to the latest data from Nepal Rastra Bank (NRB), deposits in the banking system have crossed Rs 8.05 trillion. Against this, banks have extended just Rs 5.91 trillion in loans. The credit-to-deposit (CD) ratio stands at only 72.78 percent, even though banks are permitted to lend up to 90 percent. That leaves more than Rs 1.3 trillion still available for lending across the system.
Remittances fuel the deposit surge
The main engine behind the deposit growth is remittances. In the first 10 months of the current fiscal year, remittance inflows jumped 41 percent to Rs 1.92 trillion. In the month of Baishakh alone, more than Rs 257 billion flowed in. Because much of the money sent home from abroad lands directly in bank accounts, the deposit base has ballooned. Bankers say household savings have also tilted toward banks as returns in the share market and real estate have cooled.
Rates fall, but credit doesn't rise
As liquidity swelled, banks have steadily trimmed both deposit and lending rates. The average deposit rate at commercial banks has slipped to 3.35 percent, while the average base-rate-linked lending rate has eased to 6.73 percent. Cheaper credit would normally lift loan demand — but that textbook rule isn't holding this time. Over the 10 months, private-sector credit grew just 5.7 percent (about Rs 312 billion), down from 7.3 percent in the same period last year. The numbers make clear that the system is short on demand, not resources.
Nearly Rs 1 trillion parked at the central bank
With few outlets for lending, banks have begun returning surplus cash to the central bank's vaults. Roughly Rs 999 billion of the financial system's money is now parked at NRB, earning between 2.68 and 3 percent. But that is not the business banks are meant to be in. "The problem isn't too few deposits — it's too many. We still have to pay interest to depositors, but there's nowhere to invest," said the chief executive of one commercial bank. With depositors owed regular interest while the funds sit idle, pressure is mounting on bank profits.
Why is demand so sluggish?
Although the external sector looks robust, domestic economic activity has yet to heat up. Industrialists and businesses remain cautious about fresh investment, construction has lost momentum, government capital spending is weak, and the real estate market has not fully revived. By sector, credit rose 12.8 percent for construction, 12.3 percent for consumption and 10.9 percent for transport and communication — but lending to agriculture actually contracted 2.3 percent. Import-linked trust receipt loans, meanwhile, surged 36 percent, a sign that money is leaning toward consumption and imports rather than production.
Finance Minister Swarnim Wagle has himself acknowledged that, despite ample resources in the system, they cannot be channelled into productive sectors. Experts argue the real challenge now is not managing liquidity but creating investment opportunities. They suggest developing long-term instruments such as infrastructure bonds, project-based debentures and municipal bonds to steer the idle funds into production. Until credit demand picks up meaningfully and the economy gains pace, they say, the pile-up of cash in banks is unlikely to ease anytime soon.



