नेपालका वाणिज्य बैंकहरूले आ.व. २०८१/८२ को तेस्रो त्रैमासिकमा धितोपत्रमा उल्लेखनीय वृद्धि सहित लगानी बढाएका छन्। यो अवधिमा कुल लगानी २१.४६% ले बढेर १ खर्ब ३० अर्ब रुपैयाँ (रु. १,३००,६६०,१२२ हजार) पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ खर्ब ७ अर्ब रुपैयाँ(रु. १,०७०,८१३,६४५ हजार) को तुलनामा उच्च हो। आर्थिक अनिश्चितताको बीचमा बैंकहरूले सुरक्षित र स्थिर आम्दानीतर्फ ध्यान केन्द्रित गरेको स्पष्ट देखिन्छ।
उत्कृष्ट प्रदर्शन गर्ने बैंकहरूमा राष्टिय वाणिज्य बैंक (RBBL) सबैभन्दा अगाडि रहेको छ। बैंकले आफ्नो धितोपत्र लगानी ७७.५२% ले वृद्धि गर्दै रु. १३५.९३ अर्ब पुर्याएको छ। प्रभु बैंक (PRVU) ले पनि ७२.८३% को प्रभावशाली वृद्धि देखाएको छ, जसले गर्दा यसको लगानी रु. १०३.७७ अर्बपुगेको छ। त्यसैगरी, कुमारी बैंक (KBL) ले ६८.६४% वृद्धि गर्दै आक्रामक लगानी नीति देखाएको छ।
मध्यम वृद्धि गर्ने बैंकहरूमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (NIMB) र ग्लोबल आईएमई बैंक (GBIME) क्रमशः ४७.८८% र ३०.७८% ले बढेका छन्। नबिल बैंक (NABIL) ले पनि ३०.१६% को राम्रो वृद्धि गरेको छ, जसले यसलाई प्रमुख लगानीकर्ताको रूपमा बलियो बनाएको छ।
तर, केही बैंकहरूको वृद्धि भने सिमित वा न्यूनतम रहेको देखिन्छ। नेपाल बैंक लिमिटेड (NBL) को वृद्धि मात्र १.६३% रहेको छ भने सन्चुरी बैंक (CZBIL) को वृद्धि त जम्मा ०.१७% मा सीमित छ। सिद्धार्थ बैंक (SBL) र एभरेष्ट बैंक (EBL) ले क्रमशः ८.६१% र ६.०५% को सानो वृद्धि देखाएका छन्, जसले उनीहरूको लगानी रणनीति अझ सतर्क रहेको देखाउँछ।
यता, केही बैंकहरूले भने लगानीमा कमी देखाएका छन्। SBI बैंकको लगानी २०.२१% ले घटेको छ भने सनिमा बैंकको लगानी २०.५०% ले घटेको छ। हिमालयन बैंक (HBL) ले ७.१६% को गिरावट देखाएको छ र स्ट्यान्डर्ड चार्टर्ड बैंक (SCB) ले २.५२% को सामान्य गिरावट भोगेको छ। सबैभन्दा ठूलो गिरावट एनएमबी बैंक (NMB) मा देखिएको छ, जसको लगानी ५४.७०% ले घटेको छ।
मुख्य निष्कर्ष के देखिन्छ भने, अधिकांश बैंकहरू सुरक्षित विकल्पतर्फ लागेका छन्, जस्तै सरकारी धितोपत्रहरूमा लगानी बढाइरहेका छन्। तर, केही बैंकहरूको गिरावटले उनीहरूको तरलता व्यवस्थापनमा चुनौती वा नयाँ रणनीतिक पुनर्संयोजन संकेत गरेको देखिन्छ।





