विकास हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि असार १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपिओ) निष्कासन गर्ने भएको छ। कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्टै चरणमा आईपीओ बाँडफाँड गरिसकेको हो।
नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएअनुसार कम्पनीले कुल जारी पूँजीको ५९ प्रतिशत अर्थात् ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्न लागेको हो। यसमध्ये ९ लाख ९ हजार १०१ कित्ता आयोजना प्रभावित स्थानीयहरूलाई र ३ लाख ५४ हजार ५५० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई बाँडफाँड भइसकेको छ।
अब बाँकी रहेको आईपीओमध्ये १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोष र ७० हजार ९१० कित्ता कर्मचारीहरूलाई सुरक्षित गरिएको छ। बाँकी २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यो आईपीओमा आवेदन दिने अन्तिम म्याद छिटोमा असार २२ गतेसम्म र बढीमा असार ३२ गतेसम्म हुनेछ।
आवेदन प्रभु क्यापिटल लिमिटेड, सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा तथा मेरो शेयर एपमार्फत गर्न सकिनेछ।





