प्रतिनिधिसभा निर्वाचनमा उद्योगी–व्यवसायीको बाक्लो उम्मेदवारी, नीति निर्माणमा पहुँच खोज्ने प्रयास
Author
NEPSE TRADING

काठमाडौं — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि यसपटक प्रत्यक्षतर्फ उद्योगी–व्यवसायीहरूको उल्लेख्य सहभागिता देखिएको छ। मनोनयन दर्ता गर्नेमा शेयर कारोबारीदेखि सहकारी सञ्चालक र ठूला उद्योगी व्यवसायीसम्म रहेका छन्।
यस निर्वाचनमा करीब दुई दर्जनभन्दा बढी उद्योगी–व्यवसायीले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये नेपालकै पहिलो अर्बपति विनोद चौधरी पनि रहेका छन्। उनले नेपाली कांग्रेसबाट नवलपरासी पश्चिम–१ बाट मंगलबार उम्मेदवारी दर्ता गराएका हुन्। चौधरीको यो दोस्रो चुनावी प्रतिस्पर्धा हो।
व्यवसायीहरूका अनुसार राजनीतिमा आकर्षण बढ्नुको मुख्य कारण नीति निर्माण तहमा प्रत्यक्ष पहुँच चाहनु हो। उद्योगमैत्री कानुन, कर प्रणालीमा सुधार, लगानीको सुरक्षा तथा निजी क्षेत्रमैत्री वातावरण सिर्जना गर्न संसद्मा व्यवसायिक अनुभव भएका प्रतिनिधि आवश्यक रहेको उनीहरूको तर्क छ। नीति बनाउने ठाउँमै नपुगेसम्म उद्योग–व्यवसायका दीर्घकालीन समस्या समाधान नहुने उनीहरू बताउँछन्।
करेन्ट चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले पनि नेपाली कांग्रेसबाट रुपन्देही–२ मा उम्मेदवारी दिएका छन्। यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो। त्यसैगरी, राइड सेयरिङ कम्पनी पठाओका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यातले काठमाडौं–१ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन्।
नेपाली कांग्रेसबाट पर्सा–४ मा उम्मेदवार बनेका अनिलकुमार रुंगटा पनि स्थापित उद्योगी हुन्। कास्की–१ बाट नुर ओभरसिज म्यानपावरका सञ्चालक तिलक रानाभाट कांग्रेसको तर्फबाट चुनावी मैदानमा उत्रिएका छन्। मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक समितिका पूर्व अध्यक्ष भरतराज ढकालले स्याङ्जा–१ बाट कांग्रेसकै तर्फबाट उम्मेदवारी दिएका छन्।
त्यसैगरी, मेडिकल व्यवसायी सुनीलकुमार शर्मा पनि प्रतिनिधिसभा निर्वाचनमा होमिएका छन्। काठमाडौं मेडिकल कलेज र नोबल मेडिकल कलेजका सञ्चालक शर्मा कांग्रेसबाट मोरङ–३ का उम्मेदवार हुन्। उनी अघिल्लो निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए र हाल जलविद्युत् क्षेत्रमा समेत लगानी विस्तार गर्दै छन्।
सञ्चार उद्यमी ऋषिराज धमला रौतहट–१ बाट आम जनता पार्टीको तर्फबाट उम्मेदवार बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डीपी अर्यालले काठमाडौं–९ बाट उम्मेदवारी दिएका छन्। उनी कृषि फार्म, ट्राभल, सहकारी, इँटा उद्योग, रेमिटेन्स, शिक्षा परामर्श, सेक्युरिटी सेवा, ट्रेकिङ र होटल व्यवसायमा संलग्न छन्।
युवा शेयर कारोबारी हरि ढकालले पनि राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन–१ मा दोस्रो पटक उम्मेदवारी दर्ता गराएका छन्। उनी अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए। यसैगरी, कांग्रेसबाट रसुवाका उम्मेदवार मोहन आचार्य, धादिङ–२ बाट रमेशप्रसाद धमला, एमालेबाट कपिलवस्तु–३ का उम्मेदवार वीरेन्द्रप्रसाद कनौडिया तथा झापा–४ बाट एलपी साँवा लिम्बू पनि विभिन्न उद्योग–व्यवसाय र उद्यमसँग जोडिएका व्यक्तिहरू हुन्।
यसपटकको निर्वाचनमा व्यवसायी पृष्ठभूमिका उम्मेदवारको बढ्दो सहभागितालाई निजी क्षेत्रले नीति निर्माण प्रक्रियामा आफ्नो भूमिका बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ। निजी क्षेत्रमैत्री नीति, स्थायित्व र लगानीको वातावरण सुधार्ने अपेक्षासहित उद्योगी–व्यवसायीहरू संसद्मा पुग्ने होडमा देखिएका छन्।


