काठमाडौँ — दुई सहकारी संस्थाको करिब ८ अर्ब रुपैयाँ बचत रकम अपचलन गरेको आरोप लागेका सीबी (चन्द्रबहादुर) लामा पक्राउ परेका छन्। चितवनको भरतपुरबाट शुक्रबार पक्राउ परेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार सार्वजनिक गरेको हो।
काभ्रे तेमाल गाउँपालिका–५ घर भएका ४९ वर्षीय लामाविरुद्ध काठमाडौं जिल्ला अदालतले २० फागुन २०८० मा पक्राउ पुर्जी जारी गरेको थियो। त्यसयता उनी प्रहरीको आँखा छल्न भरतपुरमा फ्ल्याट भाडामा लिएर लुकिरहेका थिए। आफ्नो स्थान पत्ता लाग्न नदिन उनले हरेक महिना फ्ल्याट फेर्ने गरेको प्रहरीले जनाएको छ। पक्राउका क्रममा उनको साथबाट चार मोबाइल फोन र छ सिमकार्ड बरामद भएका छन्।
लामा कान्तिपुर सेभिङ एन्ड क्रेडिट कोअपरेटिभका पूर्वअध्यक्ष हुन्। उनीमाथि कान्तिपुर सहकारीको करिब ६ अर्ब र पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभको २ अर्ब गरी झन्डै ८ अर्ब रुपैयाँ बचत अपचलन गरेको आरोप छ। सहकारीको रकम व्यक्तिगत नाममा घरजग्गा, निजी कम्पनी, रिसोर्ट, अस्पताल र कलेजमा लगानी गरेको प्रहरीको भनाइ छ।
कान्तिपुर सहकारीमा हाल पनि करिब ७ हजार बचतकर्ताको ६ अर्ब १३ करोड रुपैयाँ बचत रहेको छ। अनुसन्धानका क्रममा तत्कालीन अध्यक्ष लामासहित वर्तमान अध्यक्ष हिमालय विक्रम मल्ल ठकुरी र प्रबन्ध सञ्चालक प्रेमध्वज तामाङलगायतले सहकारीको रकम घरजग्गा, क्रसर उद्योग, अस्पताल तथा कलेजमा लगाएको आरोप छ।
सहकारी विभागमा बुझाइएको विवरणअनुसार लामा समूहले काभ्रे, भक्तपुर, काठमाडौं, मकवानपुर, मोरङ र खोटाङलगायत जिल्लामा ४ सय रोपनीभन्दा बढी जग्गा खरिद गरेको देखिएको छ। काठमाडौंको फर्पिङ, बूढानीलकण्ठ, टेकु, लाजिम्पाट, नयाँबानेश्वर र बौद्धलगायत क्षेत्रमा समेत सहकारीसँग सम्बन्धित घरजग्गा रहेको अनुसन्धानमा खुलेको छ।
लामाविरुद्ध सहकारी ठगीका अतिरिक्त चार बैंकिङ कसुरका मुद्दा पनि रहेका छन्, जसमध्ये तीनमा उनी फरार रहेको प्रहरीले जनाएको छ। यसअघि सहकारी ठगी मुद्दामा थुनामा रहेका उनी गत भदौको जेएनजी आन्दोलनका क्रममा डिल्लीबजार कारागारबाट फरार भएका थिए। पक्राउ परेका उनलाई पुनः कारागार पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ।




