नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले पुनर्बीमा कम्पनीहरूलाई बीमा बजारको क्षमता विस्तार गर्न स्पष्ट कार्ययोजनासहित प्राधिकरणमा सहयोग गर्न निर्देशन दिएका छन्।
बीमा प्राधिकरणद्वारा बिहीबार काठमाडौंमा आयोजित ‘पुनर्बीमा सम्बन्धी छलफल तथा अन्तर्क्रिया कार्यक्रममा’ सम्बोधन गर्दै अध्यक्ष ओझाले प्रारम्भिक, मध्यम र दीर्घकालीन योजनाको स्पष्ट खाका तयार पार्न र अन्तर्राष्ट्रिय असल अभ्यासका आधारमा सुधारको खाका ल्याउन आग्रह गरे।
“पुनर्बीमा क्षेत्रमा भएका अस्पष्टतालाई क्रमशः सुधार गर्दै प्रतिस्पर्धात्मक बनाउनुपर्छ। बीमा नीतिलाई स्थिरता दिइन्छ, र एकीकृत निर्देशिका बनाउने प्रक्रियामा छौं,” अध्यक्ष ओझाले बताए। साथै उनले बीमा ऐन, नियम, कार्यविधि कार्यान्वयनमा प्राधिकरण थप कठोर हुने र दाबी प्रक्रियालाई सहज बनाउन बीमकहरूले प्रिमियम संकलन र दाबी भुक्तानीलाई समान रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।
प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रको प्रवर्द्धन तथा समस्याहरू समाधान गर्न प्राधिकरण प्रतिबद्ध रहेको बताए। निर्देशक शम्भु राज लामिछानेले स्वागत मन्तव्य दिँदै पुनर्बीमा सम्बन्धी सुझाव संकलनका लागि कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी र हिमालयन पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरू, नेपाल बीमक संघका अध्यक्ष लगायत पुनर्बीमा विभाग प्रमुख, बीमक, लघुबीमक, र पुनर्बीमक ब्रोकरहरूको उल्लेख्य सहभागिता रहेको थियो।





