·

प्रोफिट बुकिङको दबाव, नेप्से ३ हजार टिकेन | २ दिनमा ८० अंकको भारी गिरावट | लगातार वान क्याण्डल सेल!

Author

NEPSE TRADING

प्रोफिट बुकिङको दबाव, नेप्से ३ हजार टिकेन | २ दिनमा ८० अंकको भारी गिरावट | लगातार वान क्याण्डल सेल!

साता सुरुमा झण्डै चार वर्ष यताकै उच्च विन्दु पार गर्न सफल नेप्से परिसूचक पछिल्ला दुई कारोबार दिनमा तीव्र गिरावटसँगै फेरि ३ हजारको मनोवैज्ञानिक प्रतिरोध विन्दुबाट तल झरेको छ। मंगलबार ३००२ विन्दु पार गरेपछि बजार बुधबार ४८ अंक र बिहीबार ३१.५० अंकले घटेको हो। दुई दिनमा नेप्से करिब ८० अंकले घटेर बिहीबार २९२२.६३ विन्दुमा थामिएको छ।

विश्लेषकहरुका अनुसार, यो गिरावटको मुख्य कारण छोटो अवधिका लगानीकर्ताहरुको मुनाफा बुकिङ हो। साथै, ३ हजार विन्दुलाई प्राविधिक विश्लेषकहरुले प्रतिरोध क्षेत्रका रूपमा व्याख्या गरेकाले लगानीकर्तामा मनोवैज्ञानिक असर परेको देखिन्छ। यसै कारणले बजारमा विक्रीको चाप बढेको हो।

विश्लेषकको भनाइ अनुसार, बजार साउन महिनाभित्रै फेरि ३ हजार विन्दु पार गर्ने सम्भावना रहेको छ। तर, त्यसका लागि केही समय करेक्शन र समायोजनको चरण पार गर्नुपर्ने देखिन्छ। हाल बजारमा रहेको दबाब दीर्घकालीन स्थायित्वको संकेत भएको विश्लेषकहरुको धारणा छ।

बुधबार १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार यो घटेर १५ अर्ब ९८ करोड ८९ लाख रुपैयाँमा झरेको छ। परिसूचकसँगै बजारको तरलता र कारोबार संख्यामा पनि चाप देखिएको छ।

उपसमूहको प्रदर्शन

बिहीबारको दिन वित्त उपसमूहबाहेक अन्य सबै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूह १.१८ प्रतिशतले बढ्दा, व्यापार उपसमूह २.४४ प्रतिशतले घटेर सबैभन्दा बढी प्रभावित रह्यो। बैंकिङ, जलविद्युत, लगानी, जीवन बीमा र उत्पादन तथा प्रशोधन उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।

कारोबारमा ट्रेड टावर र नेपाल फाइनान्सका शेयरहरू सकारात्मक सर्किट लेभलमा पुगेका छन्। त्यस्तै, करिब १० प्रतिशतको वृद्धिसहित कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंक अग्रस्थानमा रहे। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य ७.१० प्रतिशतले घटेर दिनको सबैभन्दा बढी गिरावट व्यहोरेको स्टक रह्यो।

उच्च कारोबार भएका स्टकहरू

कारोबार रकमको हिसाबमा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको १ अर्ब ३३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भयो। नेपाल पुनर्बीमा कम्पनीको करिब ७५ करोड र हिमालयन डिष्टिलरीको करिब ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

बजार पुनः स्थायित्वमा फर्किन केही समय लाग्ने भए पनि विश्लेषकले बजार फेरि ३ हजार पार गर्न सक्षम हुने विश्वास व्यक्त गरेका छन्। लगानीकर्ताले सावधानीपूर्वक दीर्घकालीन रणनीति अपनाउनुपर्ने सल्लाह दिइएको छ।

अब लागौं प्राविधिक विश्लेषणतर्फ

प्राविधिक विश्लेषकहरुको अनुसार, हाल नेप्से ३००० देखि ३०५० विन्दुको क्षेत्रमा प्रतिरोधको सामना गरिरहेको छ। यदि बजारले यो क्षेत्र पार गर्न सक्यो भने अर्को प्रतिरोध ३१८० देखि ३२३० विन्दुमा देखिनेछ। तर सो विन्दुमा बजार उल्टिएर झरेमा २७५० देखि २८०० विन्दुमा बलियो टेवा पाउने प्रक्षेपण गरिएको छ।

त्यस्तै, केही विश्लेषकका अनुसार बुधबारको बजारले “वान क्याण्डल सेल” दिएको हो, किनकि बिहीबार बजारले पुनः बुधबारको क्लोजभन्दा तल क्लोज भएको छ। धेरै लगानीकर्ताले अब बजार होल्ड गरेर वान क्याण्डल बाई सिग्नल कुर्न थालेका छन्।

अब लागौं ब्रोकर विश्लेषणतर्फ

आजको ब्रोकर गतिविधिमा हेर्दा शीर्ष १० ब्रोकरमध्ये ६ वटाले बढी बिक्री गरेका छन् भने ४ वटाले तुलनात्मक रुपमा बढी खरिद गरेका छन्।

ब्रोकर नम्बर ५५ बाट एनआरआईसीको राइट शेयर घोषणा भएको दिन २ लाख कित्ता शेयर बाई भएको छ। ब्रोकर ३३ बाट एमबीएलका १ लाख ६६ हजार कित्ता र ब्रोकर ४४ बाट एडीबीएलका ५५ हजार कित्ता शेयर खरिद भएको छ, जुन कुल खरिदको ४१ प्रतिशत हो।

Related News