·

बैंकको सेयरमूल्य सस्तो हुँदा पनि खरिदकर्ता नपाइने अवस्था छ : विनोद चौधरी

Author

NEPSE trading

बैंकको सेयरमूल्य सस्तो हुँदा पनि खरिदकर्ता नपाइने अवस्था छ :  विनोद चौधरी

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले बैंक तथा वित्तीय संस्थासम्बन्धी संशोधन विधेयक (बाफिया) को मस्यौदा वर्तमान वित्तीय क्षेत्रका चुनौती र अवसर समेट्न असफल भएको आरोप लगाउँदै तत्काल पुनर्लेखन गर्न सरकारसँग माग गरेका छन्।

चौधरीले प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा लगानीकर्ताको मनोबल धराशायी भएको उदाहरण दिंदै भने, “हिजो मात्र एक साथीले सय रुपैयाँ मूल्यको बैंक सेयर ४० रुपैयाँमा दिन्छु, खरिद गर्ने मान्छे भए भनिदिनुस् भनेका छन् – यसले विश्वासको अभाव देखाउँछ।” उनले अहिले तरलता उपलब्ध हुँदा पनि लगानी माग नबढ्नु निराशाजनक भएको बताए।

बैंक बोर्डमा व्यवसायी हुनु भनेको स्वार्थको द्वन्द्व हुनु भन्ने धारणा गलत भएको चौधरीले तर्क गरे – “राष्ट्र बैंकका नियम र प्रक्रिया छन्, बोर्डमा प्रोफेसनल्स हुनासाथ लगानीकर्ताको हित स्वतः संरक्षण हुन्छ।”

संशोधन विधेयकले डिजिटल बैंकिङ युग र क्षेत्रीय प्रतिस्पर्धाका आवश्यकतालाई सम्बोधन नगरेकाले नयाँ दृष्टिकोणबाट लेख्नुपर्ने उनको जोड थियो – “के यो विधेयकले नेपाली बैंकलाई अस्ट्रेलिया, मलेसियाजस्ता देशमा शाखा खोल्न अनुमति दिन्छ?”

उहाँले पूर्वाधार बैंक ‘निफ्रा’ लाई पनि कम अवधि र उच्च ब्याजको ऋण दिने संस्थामा सीमित गरिएकोमा चिन्ता व्यक्त गर्दै भने, “१० वर्ष लगाउने आयोजनालाई छोटो अवधिको ऋण दिनाले परियोजना समस्याग्रस्त हुन्छ।”

चौधरीले आगामी मौद्रिक नीतिले बाफिया संशोधनसँग घनिष्ट समन्वय गर्ने र वृद्धि तथा लगानीमैत्री वातावरण बनाउने दिशामा अघि बढ्न आवश्यक भएको निष्कर्ष सुनाए।

Related News