काठमाडौं — चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा सामान्य वृद्धि गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो वर्षको तुलनामा ६.४४ प्रतिशतले बढेको हो।
कम्पनीले समीक्षा अवधिमा ७२ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ६७ करोड ६५ लाख रुपैयाँ रहेको थियो।
आम्दानीमा भएको सुधारले कम्पनीको नाफा बढाउन सहयोग पुगेको देखिएको छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी ३.७२ प्रतिशतले बढेर १ अर्ब १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
कम्पनीको कुल नाफा ५.३३ प्रतिशत र सञ्चालन मुनाफा ६.२६ प्रतिशतले वृद्धि भएको छ। वित्तीय आम्दानीमा भने सामान्य सुधार देखिएको छ।
नाफा बढे पनि कम्पनीको प्रतिशेयर आम्दानी (ईपीएस) भने घटेको छ। समीक्षा अवधिमा ईपीएस ११ पैसाले घटेर ७ रुपैयाँ ५९ पैसा कायम भएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ९० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.१५ गुणा छ।
चिलिमे हाइड्रोपावरको चुक्ता पुँजी ९ अर्ब ४८ करोड रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा २ अर्ब २६ करोड ७२ लाख रुपैयाँ सञ्चित रहेको छ।
कम्पनीले अगुवाइ गरेको ८७ मेगावाट क्षमताको सेतीनदी–३ अर्धजलाशययुक्त जलविद्युत् आयोजना को वित्तीय व्यवस्थापनका लागि हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीसँग वित्तीय बन्दोबस्त (फाइनान्सियल क्लोजर) को प्रक्रिया अघि बढाइरहेको जनाएको छ।
त्यस्तै, प्रसारण लाइन निर्माणका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनीसँग सहकार्य गर्दै १५ प्रतिशत सेयर लगानी गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार ९१ मेगावाटको बुढीगण्डकी प्रोक जलविद्युत् आयोजना र ४५ मेगावाटको स्यारखोला जलविद्युत् आयोजना भने पहुँच सडक र नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) हुन नसक्दा निर्माण अघि बढ्न सकेका छैनन्।




