सिटिजन्स बैंक ‘बैंक अफ द ईयर २०२५’ अवार्डबाट सम्मानित
Author
NEPSE TRADING

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड विश्वकै प्रतिष्ठित ‘बैंक अफ द ईयर २०२५’ अवार्डबाट सम्मानित भएको छ। युके–स्थित द फाइनान्सियल टाईम्सले डिसेम्बर ३ तारिखमा लण्डनमा आयोजना गरेको औपचारिक समारोहका बीच बैंकलाई यो अवार्ड प्रदान गरिएको हो।
बैंकका सञ्चालक समितिका अध्यक्ष प्रवल जङ्ग पाण्डे र प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले लण्डनमा आयोजित सो कार्यक्रममा संयुक्त रूपमा अवार्ड ग्रहण गरेका छन्। यसअघि बैंक अफ द ईयर २०२४ अवार्ड पनि प्राप्त गरिसकेको सिटिजन्स बैंकले लगातार दुई वर्ष विश्वकै प्रतिष्ठित पुरस्कार हात पार्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ।
समारोहमा १२५ भन्दा बढी देशका बैंकका अध्यक्ष, सीईओ तथा उच्च अधिकारी गरी ४०० भन्दा बढी प्रतिनिधिहरूको सहभागिता थियो। अवार्ड ग्रहण गर्दै अध्यक्ष पाण्डेले “बैंकिङ क्षेत्रको ओस्कार मानिने यस अवार्डलाई लगातार दुई वर्ष प्राप्त गर्नु हाम्रो लागि अत्यन्त गर्वको विषय हो,” भन्दै आगामी दिनमा अझ ग्राहकमैत्री, आधुनिक र जिम्मेवार बैंकिङ सेवा विस्तार गर्ने प्रेरणा मिलेको बताएका छन्।
त्यसैगरी, सीईओ पोखरेलले अवार्ड प्राप्तिको श्रेय कर्मचारीहरूको निरन्तर परिश्रम, नियामक निकाय र ग्राहकको निरन्तर समर्थनलाई दिए। उनले आगामी दिनमा ‘सुशासन, प्रुडेन्ट बैंकिङ र हरित बैंकिङ’ अभ्यासलाई अझ मजबुत बनाउँदै उत्कृष्ट सेवासुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।
नेपालमा २००२ देखि यो अवार्ड वितरण हुँदै आएको छ र हालसम्म ९ वटा नेपाली बैंकले मात्र यो सम्मान प्राप्त गरेका छन्। द फाइनान्सियल टाईम्सले बैंकहरूको वार्षिक कार्यसम्पादन, नवप्रवर्तन, ग्राहक सेवा, जोखिम व्यवस्थापन र दीगो व्यवसायिक अभ्यासलाई मूल्यांकन गरेर अवार्ड प्रदान गर्दै आएको छ। अवार्ड प्राप्त गर्ने बैंकहरूको सूची यसको म्यागजिन ‘द बैंकर’ मार्फत प्रकाशित हुन्छ।
सिटिजन्स बैंकले हालसालै आफ्नो सेवामा निरन्तर नयाँ नवप्रवर्तनहरू थप्दै आएको छ। बैंकले फोनपेसँग सहकार्यमा नेपालमै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ। त्यस्तै, युवा पुस्तालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्ग्स अकाउन्ट’, एकीकृत डिजिटल बैंकिङ प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा फ्रिलान्सर सेविङ्ग्स अकाउन्ट जस्ता नयाँ प्रोडक्ट सार्वजनिक गरेको छ।
यसका अतिरिक्त, नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन र सीआरएन नम्बर प्राप्त गर्न मिल्ने सुविधा, तथा ‘क्रस बैंक टेलर’ सुविधा—जहाँ अन्य बैंकका ग्राहकले समेत सिटिजन्स शाखामा टेलर क्यूआर स्क्यान गरी नगद झिक्न सक्ने व्यवस्था—समेत बैंकले सुरु गरेको छ।
देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत बैंकले १९ लाख ५६ हजार भन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।


