काठमाडौं — सिटिजन्स म्युचुअल फण्डले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना विभिन्न योजनाबाट युनिट होल्डरहरूलाई नगद लाभांश वितरण सुरु गरेको छ। कम्पनीले सिटिजन्स म्युचुअल फण्ड–२ बाट ८.२५ प्रतिशत (रु. ४ करोड ६२ लाख) र सिटिजन्स सुपर ३० म्युचुअल फण्ड बाट १२.७५ प्रतिशत (रु. ९ करोड ५७ लाख) नगद लाभांश २०८२ साल भदौ २० गतेदेखि वितरण गर्न थालेको हो।
यसअघि २०८१ साल फागुन १९ गते परिपक्व भएको सिटिजन्स म्युचुअल फण्ड–१ ले आफ्नो नेट एसेट भ्यालु (NAV) ११.३० का दरमा रु. ९२ करोड ६६ लाख वितरण गरिसकेको छ, जसमा अघिल्लो वर्षको १३ प्रतिशत लाभांश पनि समावेश थियो।
त्यस्तै, सिटिजन्स क्यापिटल लिमिटेडले पनि आफ्ना सेयरधनीहरूलाई रु. ३ करोड २० लाख बराबरको नगद लाभांश वितरण सुरु गरेको छ, जुन २०८२ साल भदौ २० गतेदेखि प्रदान भइरहेको छ।
कम्पनीले लाभांश पाउन बाँकी रहेका युनिट होल्डरहरूलाई आफ्नो बैंक खाता अद्यावधिक गर्न तथा सिटिजन्स क्यापिटल लिमिटेडमा सम्पर्क गर्न अनुरोध गरेको छ।
सिटिजन्स बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डबाट सामूहिक लगानी कोष सञ्चालन, धितोपत्र इश्यू तथा व्यवस्थापन, पोर्टफोलियो म्यानेजमेन्ट, अण्डरराइटिङ र डिम्याट सेवा प्रदान गर्ने अधिकार प्राप्त छ।
कम्पनीको मुख्य कार्यालय काठमाडौंको दिल्लिबजारस्थित बत्तुलेघरमा रहेको छ, जसको अध्यक्ष राजेन्द्र लाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बडे श्रेष्ठ रहेका छन्।





