पछिल्ला केही सातायता निरन्तर ओरालो यात्रामा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यस साता पनि लगानीकर्तालाई कुनै राहत दिन सकेन। साताका पाँचै दिन खुलेको बजारमा चार दिनसम्म रातो बत्ती बलेपछि समग्र नेप्से परिसूचक साढे १ प्रतिशतभन्दा बढीले खुम्चिन पुगेको छ। अघिल्लो साता २६२९.८१ को विन्दुमा विश्राम लिएको नेप्से, यस साता ४२.५६ अंक अर्थात् १.६२ प्रतिशतले घटेर २५८७.२५ विन्दुमा ओर्लिएको छ। बजारको यो सुस्तताले साना लगानीकर्ता मात्र नभई ‘ब्लु चिप’ मानिने बलिया र ठूला कम्पनीका लगानीकर्तालाई समेत निराश बनाएको छ। यसको मुख्य प्रमाणस्वरूप सेन्सेटिभ, फ्लोट र सेन्सेटिभ–फ्लोट जस्ता महत्त्वपूर्ण इन्डेक्सहरु १ प्रतिशतभन्दा बढीले घट्नुलाई लिन सकिन्छ।
बजारमा छाएको यस बियरिस प्रवृत्तिका कारण एकै सातामा लगानीकर्ताको सम्पत्ति अर्थात् कुल बजार पूँजीकरण ७३ अर्ब रुपैयाँले घटेको छ। गत साताको अन्तिम दिन ४५ खर्ब २३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल आकार यस साता खुम्चिएर ४४ खर्ब ५० अर्ब रुपैयाँमा सीमित भएको छ। नेप्सेको परिसूचक र बजार पूँजीकरण मात्र होइन, बजारको मुटु मानिने दैनिक कारोबार रकममा पनि यस साता भारी गिरावट आएको छ। अघिल्लो साता दैनिक औसतमा ६ अर्ब २८ करोड रुपैयाँको शेयर किनबेच हुने गरेकोमा, यो साता उक्त रकम २३.६५ प्रतिशतले घटेर ४ अर्ब ७९ करोड रुपैयाँमा झरेको छ। कारोबार रकम सँगसँगै शेयरको खरिदबिक्री कित्तामा करिब ४० प्रतिशत र कारोबार संख्यामा झन्डै १६ प्रतिशतको गिरावट आउनुले बजारमा तरलता अभाव र लगानीकर्तामा उत्साहको चरम कमी रहेको प्रस्ट संकेत गर्छ।
क्षेत्रगत रूपमा विश्लेषण गर्दा यस साता नेप्सेमा सूचीकृत सबै १३ वटै उपसमूह राताम्मे बने। बजारको गिरावटबाट सबैभन्दा बढी प्रताडित होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ता भएका छन्। यस उपसमूहको परिसूचक सर्वाधिक २.७१ प्रतिशत अर्थात् १९४.११ अंकले ओर्लिएर ६९७७.०८ विन्दुमा पुगेको छ। त्यसैगरी, अंकको आधारमा हेर्ने हो भने जीवन बीमा उपसमूहमा सबैभन्दा ठूलो पहिरो गएको छ। यो उपसमूह २३२.७६ अंकले घटेको छ। यद्यपि, बजारमा सर्वत्र निराशा छाउँदा पनि बैंकिङ र म्युचुअल फन्ड उपसमूहले भने गिरावटलाई केही हदसम्म प्रतिरोध गरेका छन्। बैंकिङ उपसमूह केवल ०.६८ प्रतिशत (१०.३० अंक) ले घट्दा म्युचुअल फन्डको परिसूचक नाममात्रको (०.२० अंक) घटेको छ, जसले यी क्षेत्रमा लगानीकर्ताको ‘प्यानिक सेलिङ’ कम भएको देखाउँछ।
बजारको वर्तमान अवस्थालाई प्राविधिक (टेक्निकल) दृष्टिकोणबाट हेर्दा पनि तत्कालै ठूलो उछाल आउने सम्भावना कमजोर देखिन्छ। नेप्सेको दैनिक र साप्ताहिक चार्ट दुवैले बजारमा 'बियरिस' (घट्ने) दबाब कायमै रहेको औंल्याएका छन्। दैनिक चार्टमा देखिएको ‘लोअर हाई र लोअर लो’ (प्रत्येक पटक बढ्दा अघिल्लो उचाइ छुन नसक्ने र घट्दा अघिल्लो पिँधभन्दा तल पुग्ने) को श्रृंखलाले बजारले अझै पनि उकालो लाग्ने स्पष्ट दिशा र शक्ति समात्न नसकेको पुष्टि गर्छ। त्यस्तै, एमएसीडी (MACD) इन्डिकेटर नेगेटिभ जोनमै रहनु र आरएसआई (RSI) सूचक ४३ देखि ४५ को बीचमा हुनुले बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हावी भएको र माथि जाने ‘मोमेन्टम’ सुस्त रहेको व्याख्या गर्न सकिन्छ। यद्यपि, प्राविधिक विश्लेषकहरुका अनुसार बजार २५०० देखि २५४६ विन्दुको निकै बलियो ‘सपोर्ट लेभल’ को नजिक पुगेकाले आगामी दिनमा त्यही बिन्दुबाट बजारले बाउन्स ब्याक (फर्किने) गर्ने प्राविधिक सम्भावना भने जीवितै छ।
समग्र बजार निरन्तर ओरालो लाग्दा पनि यस साता केही कम्पनीका शेयरधनीले भने राम्रै नाफा कमाएका छन्। सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ७.२० प्रतिशतले वृद्धि हुँदा माण्डू हाइड्रोपावर र १०.७५ प्रतिशत एसबिएल डिबेन्चर २०८९ को मूल्यमा पनि ७ प्रतिशतको आकर्षक वृद्धि देखिएको छ। अर्कोतर्फ, एपोलो हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै (११.८० प्रतिशत) नोक्सानी व्यहोर्नुपरेको छ। बजारको भित्री कारोबार (फ्लोरसिट) केलाउँदा यस साता ठूला लगानीकर्ताको रोजाइमा ७ प्रतिशत लक्ष्मी सनराइज डिबेन्चर, शाइन रेसुङ्गा डिबेन्चर र एभरेष्ट बैंकजस्ता सुरक्षित र लाभांशमुखी स्टकहरु परेका छन्। तर, इमर्जिङ नेपाल, मन्दाकिनी हाइड्रोपावर र फरवार्ड माइक्रोफाइनान्सजस्ता कम्पनीहरु भने लगानीकर्ताले सबैभन्दा बढी बेचेका (मोस्ट पपुलर सेल) सूचीको अग्रस्थानमा देखिए। यसै साता बजारमा युनाइटेड अजोड इन्स्योरेन्स र कालिका पावरको गरी कुल १६ लाख ४३ हजार ७६४ कित्ता बोनस शेयरसमेत सूचीकृत भई कारोबारका लागि थपिएको छ।




