क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँड, १ लाख ८४ हजार ५०० जनाले पाए १० कित्ता शेयर
Author
NEPSE trading

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आइपीओ आज (चैत ५ गते) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलका अनुसार १ लाख ८४ हजार ५०० जना आवेदकले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
कम्पनीले फागुन २२ गतेदेखि २६ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो। उक्त आइपीओमा १९ लाख ६५ हजार ८११ वटा आवेदनमार्फत २ करोड २७ लाख ३९ हजार ६५० कित्ता शेयरका लागि माग भएको थियो। बिक्री प्रबन्धकका अनुसार १० हजार १२६ वटा आवेदन रद्द भएका थिए भने कुल १९ लाख ५५ हजार ६८५ वटा सदर आवेदनलाई गोलप्रथाद्वारा शेयर बाँडफाँड गरिएको हो। यस प्रक्रियामा १७ लाख ७१ हजार १८५ जना आवेदकको हात खाली भएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल २२ लाख ५० हजार कित्ता आइपीओ निष्कासनको अनुमति पाएको थियो। जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई २ लाख २५ हजार कित्ता, कर्मचारीका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषका लागि १ लाख १२ हजार ५०० कित्ता शेयर छुट्याइएको थियो। बाँकी रहेको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरिएको हो।
आइपीओको नतिजा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको वेबसाइट, एनआइएमबी एस क्यापिटलको वेबसाइट, सीडीएस एन्ड क्लियरिङको आइपीओ नतिजा हेर्ने वेबसाइट र मेरो शेयर एपमार्फत हेर्न सकिन्छ।
रेटिङ एजेन्सी इक्रा नेपालले यो कम्पनीको आइपीओलाई ‘इक्राएनपी इस्युआर डबल बी रेटिङ’ प्रदान गरेको छ। यो रेटिङले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ। इक्रा नेपालले २०८१ भदौ ७ गते यो रेटिङ जारी गरेको थियो र यो २०८२ भदौ ५ गतेसम्म मान्य रहनेछ।