गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने सिजन सुरु भएसँगै बैंकहरूले धमाधम प्रतिफल घोषणा गर्न थालेका छन् । हालसम्म ५ वाणिज्य र ३ विकास गरी कुल ८ वटा बैंकले लाभांश प्रस्ताव सार्वजनिक गरिसकेका छन्, जसमा लगानीकर्ताले न्यूनतम ६ प्रतिशतदेखि अधिकतम २० प्रतिशतसम्म प्रतिफल पाउने भएका छन् ।
वाणिज्य बैंकतर्फ नबिल, एभरेष्ट, ग्लोबल आइएमई, सानिमा र माछापुच्छ्रे बैंकले लाभांश प्रस्ताव गरेका छन् । नबिलले ५ प्रतिशत बोनस र १०.८० प्रतिशत नगद गरी कुल १५.८० प्रतिशत लाभांश दिने निर्णय गरेको छ भने एभरेष्ट बैंकले पनि ५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी १५ प्रतिशत नै प्रतिफल बाँड्ने प्रस्ताव अघि सारेको छ । त्यसैगरी, ग्लोबल आइएमईले ४ प्रतिशत बोनस र ६ प्रतिशत नगद (कुल १० प्रतिशत), सानिमा बैंकले १० प्रतिशत नगद र माछापुच्छ्रे बैंकले ३ प्रतिशत बोनस र ३ प्रतिशत नगद (कुल ६ प्रतिशत) लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।
उता, विकास बैंकहरूमध्ये लाभांश घोषणा गर्नेमा गरिमा, कामना सेवा र सांग्रिला डेभलपमेन्ट बैंक अगाडि छन् । हालसम्म घोषणा भएकामध्ये गरिमा विकास बैंकको प्रतिफल सर्वाधिक छ । गरिमाले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, कामना सेवा विकास बैंकले साधारण सेयरधनीलाई १५ प्रतिशत नगद र सांग्रिला डेभलपमेन्ट बैंकले ४ प्रतिशत बोनस तथा ६.५२ प्रतिशत नगद (कुल १०.५२ प्रतिशत) लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।
लाभांश पारित गर्न कतिपय बैंकले साधारणसभा र बुक क्लोजको मिति समेत तय गरिसकेका छन् । सानिमा बैंकले असोज १२ गतेका लागि साधारणसभा बोलाएको छ भने त्यस प्रयोजनार्थ असोज १ गते बुक क्लोज गर्दैछ । त्यस्तै, ग्लोबल आइएमई बैंकले असोज १६ गते साधारणसभा गर्ने र असोज ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । बैंकहरूले प्रस्ताव गरेको उक्त लाभांशमा लाग्ने करसमेत समावेश गरिएको जनाएका छन् । सम्बन्धित बैंकको साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले यो प्रतिफल प्राप्त गर्नेछन् ।




