एलन मस्कको xAI ले ‘Grok 3’ च्याटबट ल्यायो, ChatGPT लाई टक्कर दिने
Author
NEPSE trading

एलन मस्कको कम्पनी xAI ले नयाँ एआई च्याटबट ‘Grok 3’ सार्वजनिक गरेको छ। यसअघि आएको संस्करणको तुलनामा १० गुणा बढी कम्प्युटर स्रोत प्रयोग गरिएको ‘Grok 3’ लाई OpenAI को ChatGPT, चिनियाँ DeepSeek जस्ता च्याटबटहरूसँग प्रतिस्पर्धा गर्न ल्याइएको हो।
दुबईमा भएको विश्व सरकार शिखर सम्मेलनमा भर्चुअल रूपमा सम्बोधन गर्दै मस्कले ‘Grok 3’ लाई "डरलाग्दो रूपमा स्मार्ट" भनेका छन्। उनले भने, "हामीले गरेका परीक्षणहरूमा ‘Grok 3’ ले अहिलेसम्म सार्वजनिक गरिएका कुनै पनि एआई मोडेललाई जितेको छ।"
Colossus सुपरकम्प्युटरमा चलेको ‘Grok 3’
xAI का अनुसार, ‘Grok 3’ को प्रशिक्षणका लागि १ लाखभन्दा बढी Nvidia GPU घण्टा प्रयोग गरिएको छ। यो करिब आठ महिनामा तयार गरिएको मस्कले बताएका छन्।
‘Grok 3’ कसरी प्रयोग गर्ने?
xAI ले ‘Grok 3’ आजदेखि ‘Premium Plus’ सदस्यहरूका लागि उपलब्ध गराएको छ। इलोन मस्कले सामाजिक सञ्जाल X (पहिलेको ट्विटर) मा पोस्ट गर्दै भने, "X एप अपडेट गर्नुहोस्, ताकि ‘Grok 3’ का सबै नयाँ सुविधाहरू उपयोग गर्न सक्नुहोस्।"
नयाँ ‘Super Grok’ सदस्यता पनि आउँदै
मस्कले थप्दै भने, "हामी ‘Super Grok’ नामक नयाँ सदस्यता योजना ल्याउँदैछौं। यसले प्रयोगकर्तालाई सबैभन्दा उन्नत सुविधाहरू र नयाँ फिचरहरूको पहिलो पहुँच दिनेछ।" यो सदस्यता Grok एप र नयाँ वेबसाइट grok.com मा उपलब्ध हुनेछ।
भ्वाइस इन्टरएक्सन सुविधा पनि आउने
मस्कका अनुसार, ‘Grok 3’ लाई अझ प्रभावकारी बनाउन आवाजमार्फत कुराकानी (भ्वाइस इन्टरएक्सन) प्रणाली पनि परीक्षण भइरहेको छ। उनले भने, "मैले केही समय अगाडि यसको परीक्षण गरेँ। यसले मानिसझैँ कुराकानी गर्ने अनुभव दिनेछ। तर, अझै सुधार गर्न बाँकी छ।"
मस्कका अनुसार, ‘Grok 3’ लाई पूर्ण रूपमा परिष्कृत गर्न अझै एक हप्ता लाग्न सक्छ, तर हरेक दिन सुधार गर्दै लैजाने योजना रहेको छ।